अशोक सुन्याल, कञ्चनपुर

सत्ताधारी नेकपा एमाले निकट दलित संगठन मुक्ति समाजमा बबण्डर मच्चिएको छ । मुक्त समाजको सातौँ राष्ट्रिय सम्मेलनमा पदाधिकारी, सदस्य छनौटको विषयलाई लिएर मुक्ति समाजमा बबण्डर मच्चिएको हो ।

एमालेको भातृ संगठन मुक्ति समाजका केन्द्रीय सदस्यको एक समूहले नेतृत्वप्रति असहमति जनाउँदै सामूहिक राजीनामा दिएका छन । राष्ट्रिय सम्मेलनबाट मुक्ति समाजको केन्द्रीय सदस्य बनेका उनीहरुले कार्यविभाजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।राजीनामा दिनेहरुमा पार्टीको सुप लप्रदेश कमिटी सदस्य समेत रहेका लक्ष्मी बिक, सत्यराज स्नेही, बलभद्र दयाल र लाल बहादुर बिक रहेका छन् । त्यसैगरी पार्टीको विभिन्न जिल्ला कमिटिमा समेत रहेका व्यक्तिहरु सुन्दर जैरु, प्रेम भूल, हंश नेपाली, सुशिला मिजार, कलावती लावड, रमेश तिरुवा र दिनेश नेपालीले पनि राजिनामा दिएका छन् ।सम्मेलन पछिको दोस्रो बैठकका लागि सुदूपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं पुगेका उनीहरु राजीनामा दिएर जिल्ला फर्किएका छन् ।उनीहरुले पार्टीका ४ जना प्रदेश कमिटी सदस्य उपस्थित हुँदाहुँदै कञ्चनपुर जिल्ला कमिटि सदस्य रहेका भारमल सुनारलाई प्रदेश इन्चार्ज बनाएको प्रति आपत्ति जनाएका छन् । संगठनमा विद्यमान स्वेच्छाचारिता, एकल निर्णय प्रवृत्ति र पक्षपाती नेतृत्वशैलीप्रति विरोध स्वरूप राजीनामा दिएको उल्लेख गरेका छन् ।

“संगठन सुदृढ बनाउने सन्दर्भमा गरिएको प्रारम्भिक सहमतिलाई बेवास्ता गर्दै कार्य विभाजनमा कुनै सल्लाह र समन्वय नगरी एकपक्षीय निर्णय गरिएको छ । यो निर्णयका लागि न त प्रदेश नेतृत्वसँग समन्वय गरियो, न त अग्रज नेतासँग छलफल गरियो ।” उनीहरुको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।संगठनको इन्चार्ज र अध्यक्षको कार्यशैली स्वेच्छाचारी, अधिनायकवादी पक्षपाती रहेको उनीहरुको आरोप छ । नेतृत्वले निर्णय नसच्याए अन्य केन्द्रीय सदस्य र सुदूरपश्चिमका ९ ओटै जिल्ला अध्यक्षले समेत राजीनामा दिने तयारी गरिरहेको उनीहरुको भनाइ छ । राजीनामा दिने व्यक्तिले संगठनप्रतिको प्रतिबद्धता कायमै रहेको जनाउँदै नेतृत्वमा देखिएको व्यवहार र निर्णय प्रक्रियामा सुधार नभएसम्म जिम्मेवारी बहन गर्न नसक्ने बताएका छन् । यसरी एमालेमा दलित संगठनका केही नेताहरुमाथि पाटीका जिम्मेबारी नेताबाट अन्याय भएको र नसच्याएर संगठन मात्रै नभई पाटी सदस्यता समेत त्याग गर्ने घोषणा गरेका छन ।

 

प्रतिक्रिया दिनुस