धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय तहका आवश्यकता र संवेदनशीलतालाई प्राथमिकतामा राख्दै प्रदेश सरकार अघि बढिरहेको बताउनुभएको छ। उहाँले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप बलियो बनाउँदै विकास निर्माणमा प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

गाउँपालिका महासंघ नेपाल र नेपाल नगरपालिका संघले प्रदेश सरकारसँग स्थानीय तहको अन्तरसम्बन्ध सुदृढीकरण, सबलीकरण तथा समसामयिक विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले स्थानीय तहका जायज आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार सधैँ तयार रहेको बताउनुभयो।

मुख्यमन्त्री भट्टले प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्ट बुझाइका साथ सहकार्य र समन्वय अघि बढाउनुपर्नेमा जोड दिनुभयो। विकासका योजना निर्माणदेखि कार्यान्वयनसम्म तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले संघीयताको प्रत्यक्ष अनुभूति गर्न सक्ने उहाँको भनाइ थियो।

उहाँले मिसन र भिजनसहितको बजेट निर्माण गरी फास्ट ट्र्याकबाट विकासका काम अघि बढाउने तथा बजेट कार्यान्वयनमा देखिएका बेथिति अन्त्य गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो।

प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि लगायत नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार र संघीयताप्रति गरिने कतिपय टिप्पणी तथ्यमा आधारित नभएको बताउनुभयो।

प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहका समस्या, आवश्यकता र सुझावलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा खिमलाल देवकोटाले प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले संघीय शासन प्रणालीलाई थप प्रभावकारी र मजबुत बनाउने बताउनुभयो। उहाँले स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई प्रदेश तथा संघीय सरकारका नीति र कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा गाउँपालिका महासंघ नेपाल र नेपाल नगरपालिका संघले स्थानीय तहका योजना, नीति निर्माण तथा समसामयिक विषय समेटिएको ज्ञापनपत्र प्रदेश सरकारलाई बुझाएका थिए।

प्रतिक्रिया दिनुस