डडेल्धुरामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाका नाकाका रूपमा रहेको डडेल्धुरा जिल्लामा संक्रमणको उच्च जोखिमका रहेका कारण वैशाख १९ गतेबाट २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना संक्रमण तीव्ररूपमा फैलिएसँगै निषेधाज्ञालाई पनि कडाइका साथ निरन्तरता दिइएको छ । वैशाख २५ गते देखि जेठ ४ गतेसम्मका लागि थप १० दिन निषेधाज्ञा जारी गरिएको उनले बताए । निषेधाज्ञाको अवधिभर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । खाद्य सामग्रीका पसल २५ गतेदेखि बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । डडेल्धुराका सरकारी कार्यालयकोे समेत आकस्मिकबाहेक सबै सेवा बन्द गरिने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुस