पुजा डगौरा महेन्द्रनगर, साउन १० — कञ्चनपुरमा ३२औँ विश्व आदिवासी जनजाति दिवस मनाउने तयारी सुरु गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरको आयोजनामा सम्पन्न तयारी बैठकले दिवसलाई भव्य र व्यवस्थित रूपमा मनाउने निर्णय गरेको हो।
बैठकमा दिवसको कार्यक्रम, व्यवस्थापन, प्रचारप्रसार तथा विभिन्न तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा जिल्लाभरका आदिवासी जनजाति समुदाय, विभिन्न जातीय संस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
बैठकले दिवस सफल बनाउन आवश्यक तयारीलाई तीव्रता दिने निर्णय गरेको छ। यद्यपि, कार्यक्रमका प्रमुख अतिथि भने अर्को बैठकबाट टुङ्गो लगाइने निर्णय गरिएको आयोजकले जनाएको छ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका जिल्ला अध्यक्ष बिकास श्रेष्ठ का अनुसार दिवसका अवसरमा र्याली, सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा आदिवासी जनजातिको भाषा, संस्कृति, पहिचान र अधिकारसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गरिनेछ।
विश्व आदिवासी जनजाति दिवस प्रत्येक वर्ष अगस्ट ९ का दिन विश्वभर मनाइँदै आएको छ। नेपालमा पनि यस दिवसलाई विभिन्न कार्यक्रममार्फत मनाउने परम्परा रहेको छ।

