कञ्चनपुर — कञ्चनपुरमा लामो समयदेखि जटिल समस्याका रूपमा रहँदै आएको छाडा चौपाया व्यवस्थापनका लागि कञ्चनपुर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताको अग्रसरता तथा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको समन्वय र सहजीकरणमा ११ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
कञ्चनपुरका विभिन्न बजार क्षेत्र, मुख्य सडक, बस्ती तथा कृषि क्षेत्रमा छाडा चौपायाको समस्या बढ्दै जाँदा कृषकको बालीमा क्षति पुग्नुका साथै सडक दुर्घटनाको जोखिम, यातायातमा अवरोध, सार्वजनिक स्थलमा असहजता तथा पशुहरूको संरक्षणसँग सम्बन्धित समस्या समेत बढ्दै गएको छ। लामो समयदेखि विभिन्न निकायबाट व्यवस्थापनका प्रयास हुँदै आए पनि समस्या स्थायी रूपमा समाधान हुन नसकेपछि सांसद महताले यसको दीर्घकालीन समाधानका लागि पहल अघि बढाएका हुन्।

संसददेखि सरकारसम्म उठाउँदै आएका थिए महता ।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महताले निर्वाचन क्षेत्रका स्थानीय समस्या संघीय सरकारको ध्यानाकर्षण गराउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्। निर्वाचित भएपछि उनले निर्वाचन क्षेत्रको समग्र विकासका साथै जनताका स्थानीय समस्या संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
छाडा चौपाया समस्या पनि कञ्चनपुरमा लामो समयदेखि जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले महताले यसलाई स्थानीय तहमा मात्र सीमित नराखी संघीय सरकारको तहमा समेत उठाउँदै आएका छन्।उनले यश बिषयलाई प्रतिनिधि सभाको बैठकमा समेत बोल्दै यसको दिर्घकालिन समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
हालै सुदूरपश्चिमका सांसदहरूको प्रधानमन्त्री बालेन्द्र साहसँग भएको भेटमा पनि कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन गर्नु पर्ने विषय सासंद महताले सो भेटका क्रममा उठाउनु भएको थियो।

समस्या पहिचानदेखि समाधानको मोडेलसम्म ।

नव गठित अध्ययन कार्यदलले जिल्लामा छाडा चौपायाको वास्तविक अवस्था पहिचान गर्नेछ। कार्यदलले छाडा चौपायाबाट भइरहेको हानि–नोक्सानी, कृषकमा परेको असर, सडक तथा सार्वजनिक क्षेत्रमा सिर्जना भएको समस्या, पशुहरूको वर्तमान अवस्था तथा विगतमा गरिएका व्यवस्थापनका प्रयासबारे अध्ययन गर्नेछ।
त्यसैगरी छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तह तथा अन्य निकायबाट हालसम्म भएको खर्चको विवरणसमेत संकलन गरिनेछ। विगतमा खर्च भए पनि समस्या किन समाधान हुन सकेन भन्ने विषयमा समेत कार्यदलले अध्ययन गर्नेछ।
कार्यदलले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन, वन कार्यालय, पशु सेवा क्षेत्र, प्रहरी, कृषक, उद्योग वाणिज्य क्षेत्र, पशु संरक्षणमा काम गरिरहेका संस्था,राजनीतिक दल तथा अन्य सरोकारवालासँग छलफल गरी समस्या समाधानका लागि आवश्यक सुझाव संकलन गर्नेछ।

स्थानीय तहदेखि वन र पशु सेवा क्षेत्रसम्मको प्रतिनिधित्व

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा गठन गरिएको कार्यदलमा स्थानीय तहदेखि वन, पशु सेवा, सुरक्षा निकाय तथा निजी क्षेत्रसम्मको प्रतिनिधित्व गराइएको छ।
कार्यदलमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशी, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बम, वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत लक्ष्मीराज जोशी, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका डा। मनोज पाल, पूर्व वन अधिकृत रमेशचन्द, उद्योग वाणिज्य संघका उपाध्यक्ष तेजबहादुर चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधि तथा चौपाया स्याहार उद्धार समाजकी मञ्जु सिंह लगायत सदस्य रहेका छन्।
यसरी जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधिलाई एउटै कार्यदलमा समेटिएकाले छाडा चौपाया व्यवस्थापनको समस्या बहुआयामिक रूपमा अध्ययन हुने अपेक्षा गरिएको छ।

‘छाडा चौपाया’ मात्र होइन, पशु संरक्षण र कृषकको हित पनि

छाडा चौपाया व्यवस्थापनको विषय सडकबाट पशु हटाउने वा अन्यत्र पठाउने विषयमा मात्र सीमित नराखी पशु संरक्षण, कृषकको बाली सुरक्षा, सडक सुरक्षा र ,व्यवस्थित पशुपालनसँग जोडेर हेर्नुपर्ने आवश्यकता रहेको छ।
कृषकको खेतबारीमा चौपाया पस्दा उत्पादनमा क्षति हुने गरेको छ भने सडकमा चौपाया बस्दा दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ। अर्कोतर्फ, पशुलाई उचित आहार, पानी, उपचार र सुरक्षित आश्रयको व्यवस्था नगरी व्यवस्थापन गर्दा समस्या फेरि दोहोरिन सक्ने भएकाले दीर्घकालीन समाधान आवश्यक देखिएको छ।
यही पक्षलाई ध्यानमा राखेर कार्यदलले तत्कालीन व्यवस्थापनसँगै दीर्घकालीन समाधानको बाटोसमेत पहिचान गर्ने अपेक्षा गरिएको छ।

१० दिनभित्र प्रतिवेदन

कार्यदललाई १० दिनभित्र अध्ययन पूरा गरी प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ। प्रतिवेदनमा छाडा चौपायाको वर्तमान अवस्था, हानि–नोक्सानी, विगतमा भएका प्रयास तथा खर्च, सरोकारवाला निकायको भूमिका र आगामी दिनमा अपनाउनुपर्ने व्यवस्थापनका उपाय समेटिनेछ।
सांसद महताको पहलमा जिल्ला प्रशासनको समन्वयमा गठन भएको कार्यदलले तयार पार्ने प्रतिवेदनलाई आगामी व्यवस्थापनको आधार बनाउने तयारी गरिएको छ।
कञ्चनपुरमा वर्षौंदेखि समाधान हुन नसकेको छाडा चौपायाको समस्या समाधानका लागि समस्या पहिचान, तथ्य संकलन, जिम्मेवारी निर्धारण र दीर्घकालीन व्यवस्थापनको स्पष्ट योजना आवश्यक देखिएको छ। यसका लागि सांसद महताले स्थानीय तह, जिल्ला प्रशासन र सरोकारवाला निकायलाई एउटै प्रक्रियामा जोडेर अघि बढाएको पहलले अब समस्याको स्थायी समाधानतर्फ ठोस आधार तयार गर्ने अपेक्षा गरिएको छ।
कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि महताले जनताको स्थानीय गुनासो र निर्वाचन क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउने बत

प्रतिक्रिया दिनुस