दुबई संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भारतको मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र कूटनीतिक तथा व्यापारिक क्षेत्रका विज्ञ रिजवान आलमबीच विशेष शिष्टाचार भेटवार्ता भएको छ।
मध्यप्रदेशमा वैदेशिक लगानी भित्र्याउने तथा अन्तर्राष्ट्रियस्तरमा रणनीतिक एवं व्यावसायिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित ‘इन्भेस्ट इन मध्यप्रदेश’ अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुने क्रममा मुख्यमन्त्री यादव र आलमबीच भेटवार्ता भएको हो।
मुख्यमन्त्री यादवको विशेष निमन्त्रणामा आलम कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। युएईमा रहेर मध्यपूर्व तथा दक्षिण एसियाको भूराजनीति, कूटनीति र व्यापारिक क्षेत्रमा सक्रिय आलमको भूमिकालाई ध्यानमा राख्दै उनलाई कार्यक्रममा विशेष आमन्त्रण गरिएको जनाइएको छ।
मुख्यमन्त्री यादव र आलमबीच युएईमा भएको यो दोस्रो उच्चस्तरीय भेटवार्ता हो। भेटका क्रममा दुई पक्षबीच अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक सहकार्य, लगानीको सम्भावना तथा क्षेत्रीय साझेदारीका विषयमा समेत छलफल भएको बताइएको छ।
नेपालको बाढीपहिरो र जलवायु संकटको विषय उठ्यो
कार्यक्रमका क्रममा आलमले नेपालले पछिल्लो समय भोग्दै आएको बाढीपहिरो तथा जलवायु परिवर्तनका कारण सिर्जित संकटको विषयलाई प्राथमिकताका साथ उठाएका थिए।
नेपालको सुनसरी घर भएका आलमले जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकहरूले बढी भोगिरहेको उल्लेख गर्दै जलवायु संकट कुनै एक राष्ट्रको मात्र समस्या नभई विश्वव्यापी चुनौती भएको बताए।
उनले जलवायु परिवर्तनका कारण प्रभावित मुलुकलाई आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायले समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिए। नेपालमा पछिल्लो समय देखिएका बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का घटनाले जलवायु संकटको गम्भीरता थप उजागर गरेको उनको भनाइ थियो।
मध्यप्रदेशमा लगानी गर्न मुख्यमन्त्री यादवको आह्वान
‘इन्भेस्ट इन मध्यप्रदेश’ कार्यक्रममा भारतको आर्थिक विकास, नीतिगत सुधार, पूर्वाधार, नवप्रवर्तन, औद्योगिक सम्भावना तथा दिगो विकासका विषयमा छलफल गरिएको थियो।
सो अवसरमा मुख्यमन्त्री डा. यादवले भारतमा विकसित हुँदै गएको अनुकूल आर्थिक वातावरणले विश्वभरका लगानीकर्ताका लागि दीर्घकालीन व्यावसायिक साझेदारीका नयाँ अवसर सिर्जना गरिरहेको बताए।
प्राकृतिक स्रोत–साधन, दक्ष जनशक्ति, आधुनिक पूर्वाधार तथा लगानीमैत्री नीतिका कारण मध्यप्रदेश वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई मध्यप्रदेशमा लगानी गर्न आह्वान गरे।
दुबईमा भएको भेटवार्ता तथा ‘इन्भेस्ट इन मध्यप्रदेश’ कार्यक्रमले मध्यप्रदेश, युएई र अन्तर्राष्ट्रिय लगानीकर्ता समुदायबीच आर्थिक, कूटनीतिक तथा रणनीतिक सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

