कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका विभिन्न स्वास्थ्य संस्थामा आवश्यक औषधिको अभाव देखिएपछि सेवाग्राही मर्कामा परेका छन्। जिल्लाकै जेठो र धनी भीमदत्त नगरपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने सर्वसाधारणले चिकित्सकबाट जाँच गराएपछि समेत आवश्यक औषधि स्वास्थ्य संस्थाबाट नपाउने अवस्था रहेको गुनासो गरेका छन्।
नियमित रूपमा प्रयोग गर्नुपर्ने औषधिसमेत अभाव हुँदा आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रबाट उपचारका लागि आउने नागरिक थप समस्यामा परेको बताइएको छ। स्वास्थ्य संस्थामा औषधि उपलब्ध नहुँदा कतिपय सेवाग्राही निजी मेडिकलबाट औषधि खरिद गर्न बाध्य भएका छन्। यसले सरकारले निःशुल्क उपलब्ध गराउने आधारभूत स्वास्थ्य सेवाको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ। भीमदत्त नगरपालिकाले स्वास्थ्य संस्थामार्फत नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा सेवा सञ्चालन गर्दै आएको आधिकारिक विवरणमा उल्लेख छ। सेवाग्राहीले स्वास्थ्य संस्थामा नियमित रूपमा आवश्यक औषधिको आपूर्ति सुनिश्चित गर्न नगरपालिकासँग माग गरेका छन्। औषधि खरिद तथा वितरण प्रणालीलाई प्रभावकारी बनाई कुनै पनि स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन नदिन सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उनीहरूको माग छ।

