
कञ्चनपुर । कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघ लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भएको जनधन र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा शीघ्र उद्धार, राहत तथा वित्तीय सहजीकरणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
संघका अध्यक्ष प्रेम सिंह भाटद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा बाढीका कारण मानव जीवन संकटमा परेको, नागरिक घाइते तथा सम्पर्कविहीन भएको, घरपरिवार, व्यवसाय, सडक, पुल, विद्युत् तथा जलविद्युत् आयोजना, सरकारी कार्यालय, सुरक्षा निकायका संरचना, सहकारी तथा वित्तीय संस्थालगायत सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ । प्रारम्भिक विवरणअनुसार भोटेकोशी–त्रिशूली नदी प्रणालीमा बाढीका कारण ठूलो भौतिक तथा आर्थिक क्षति भएको र त्यसको यकिन विवरण संकलन भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
संघले प्राकृतिक विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान प्रकट गरेको छ ।
विज्ञप्तिमार्फत संघले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ तीव्र बनाउन, कृषक, व्यवसायी, मजदुर तथा सर्वसाधारणले व्यहोरेको क्षतिको यथार्थ मूल्याङ्कन गरी उचित राहत तथा पुनःस्थापना प्याकेज उपलब्ध गराउन आग्रह गरेको छ । त्यसैगरी, सहकारी, बैंक तथा वित्तीय संस्थाका प्रभावित सदस्य तथा ऋणीलाई राहत, पुनर्तालिकीकरण तथा आवश्यक वित्तीय सहजीकरणको व्यवस्था गर्न सम्बन्धित निकायसँग पहल गर्न पनि माग गरिएको छ ।
संघले प्राकृतिक विपद्बाट भएको सम्पूर्ण जनधन तथा आर्थिक क्षतिको यथार्थ विवरण सार्वजनिक गर्दै दीर्घकालीन पुनःनिर्माणको स्पष्ट योजना अघि बढाउन सरकारसँग आग्रह गरेको छ । साथै विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूका लागि मानवीय सहयोग, राहत तथा पुनःस्थापनाका सम्भावित कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वअनुसार सहयोग गर्न कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघ लिमिटेड प्रतिबद्ध रहेको जनाएको छ ।

