रमेश प्रसाद भट्ट/ भदाै १८,कञ्चनपुर
आरक्षपीडित, सुकुम्बासी, दलित भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या समाधान गरी उनीहरूलाई व्यवस्थित गराउन भूमिसम्बन्धी सम्पूर्ण समस्याका विषयमा छलफल गरिएको छ।
बुधबार भूमि सुधार मन्त्रालयमा भएको छलफलमा कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य जनकसिंह धामी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विजय जैरू तथा रास्वपा बेलडाँडी सभापति तेजसिंह धामीले भूमिसम्बन्धी समस्याबारे भूमि सुधार मन्त्री प्रतिभा रावलसँग छलफल गरेका हुन्।
छलफलका क्रममा कञ्चनपुर क्षेत्र नं. १ मा वर्षौंदेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गा समेत साविक वन क्षेत्रका रूपमा देखिएकाले त्यसबाट उत्पन्न समस्या समाधानका लागि वन मन्त्रालय र कानुनसँग आवश्यक समन्वय तथा सहकार्य गरी छिट्टै समाधान खोजिने मन्त्री रावलले बताउनुभएको तेजसिंह धामीले जानकारी दिनुभयो।
त्यस्तै, आरक्षपीडितको शिविरमा बस्दै आएका नागरिकको अवस्थाप्रति मानवीय संवेदनशीलता देखाउँदै उनीहरू त्यहाँ रहँदासम्म तत्कालका लागि विद्युत्को व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको छ।
आरक्षपीडित शिविरमा विद्युत् लाइन विस्तार गरी उज्यालोको व्यवस्था गर्न ऊर्जा मन्त्रालयसमेत सकारात्मक देखिएको नेता धामीले बताउनुभयो।
शिविरमा बसोबास गर्ने नागरिक पनि नेपाली नागरिक नै भएकाले उनीहरूको आधारभूत आवश्यकतालाई ध्यान दिनुपर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ।
भूमिहीन, सुकुम्बासी, आरक्षपीडित तथा अव्यवस्थित बसोबासीका दीर्घकालीन समस्या समाधानका लागि सम्बन्धित सबै मन्त्रालय र निकायबीच समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने विषयमा छलफल भएकाे रास्वपा बेलडाँडी सभापति नेता धामीले बताउनु भयाे ।

