मेची–महाकाली यात्रामा निस्केका ३८ वर्षीय रामबहादुर गोले(तामाङ) लाई महेन्द्रनगरमा अभिनन्दन गरीएको छ। बिहिबार बिहान भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्टले ह्विलचियरको यात्रु तामाङलाई मायाको चिनो प्रदान गर्दे अभिनन्दन गरे।
‘अपाङ्गता हुदैमा जिन्दगीको अन्त्य हुँदैन’ भन्न्ने भावना बोकेर ३८ वर्षीय तामाङ) मेचीबाट ह्विलचेयरको यात्रा गरी यहाँसम्म आइपुगेका हुन्। काकँडभित्ताबाट ह्विल चेयर चढेर यात्रा गरेका गोले २६ दिन लगाएर यहाँ आइपुगेका हुन्। उनलाई ‘स्पाइनल कर्ड इन्जुरी’(मेरुदण्डको पक्षघात) भएको छ । उनि भन्छन्,–‘दृढ इच्छा शक्ति भए फरक क्षमता भएकाले पनि सपांगझैं काम गर्न सक्छन्।’
यस अघि उनले लुम्बिनीदेखि भारतको बोधगया (बिहार) सम्मको करिब ५५० किलोमिटर लामो यात्रा र नमोबुद्धदेखि ३६६ किमी ह्विलचेयरबाट यात्रा पूरा गरिसकेका छन्। लामो यात्रा गरे पनि त्यो यात्रा सोखका लागि मात्रै गरेको उनी बताउँछन्। मेची महाकाली यात्रा गोलेको तेश्रो हो।
‘मलाई घुमिरहन, नयाँ मान्छे भेट्न मनपर्छ तर हाम्रो समाज, राज्य हामी जस्तालाई भित्रभित्रै गुम्साइरहने खालको छ। विभिन्न चुनौतीको सामना गर्दै यात्रामा निस्केको हुँ’, उनको भनाइ छ। दाताको सहयोगमा उनले यहाँसम्मको कठिन यात्रा पूरा गरेका हुन्। बस दुर्घटनामा उनको कम्मरमुनिको भाग चल्दैन। त्यही दुर्घटनामा उनले एउटा आँखा पनि गुमाए। ह्विल चेयरमा यहाँ आइपुगेका उनी स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा दौतरी परामर्शदाताका रुपमा काम गर्छन्। बास्केटबल खेल्ने, स्विमिङ गर्नेसँगै अपांगता भएकालाई पुनःस्थापना केन्द्रमा तालिमसमेत उनले दिने गरेका छन्।
‘जीवन सोचेभन्दा रमाइलो छ’, भन्छन्, ‘अपांगता भएकोमा भाग्यलाई सम्झेर बस्दिनँ। भाग्यमानी ठान्छु। अपांगता नभएको भए म जिन्दगी बुझ्ने थिइनँ होला।’ २०६७ साल पुस १८ गते साथीहरूसँगै खासा घुम्न गएका बेला दोलालघाटको चौबन्ने किलोमा बस दुर्घटनामा गोले अपांगता भएका थिए। सबै भन्दा लामो ह्विलचेयर यात्रा गरेर गोले विश्व कीर्तिमान राख्न चाहन्छन्। ‘ह्विलचेयरमा सबैभन्दा लामो दूरी पार गर्ने व्यक्तिका रुपमा रेकर्ड राख्न चाहन्छु’, भन्छन्, ‘विगतका लामा यात्रालाई चर्चामा ल्याउन नसक्दा लक्ष्य पूरा नहुन सकेन। अब लक्ष्य पूरा नहुँदासम्म् सम्म यात्रा जारी रहन्छ।‘ ह्विलचेयरमा लामो दूरी पार गर्नेमा भारतका सुरेन्द्र यादव र शेलेन्द्र हसनको नाम गिनिज बुकमा दर्ज छ। दुवैले २५० किलो मिटर यात्रा तय गरेको रेकर्ड छ।
उनले आज महेन्द्रनगरमा मेची महाकाली यात्राको समापन गरीएको जानकारी दिए। यात्रामा उनीसँगै उनका भतिजा मान बहादुर तामाङ सहयोगीका रुपमा सँगै छन्। मेची–महाकाली यात्रामा निस्केका गोलेका श्रीमतीसँगै एक छोरा र एक छोरी पनि छन्। भन्छन्, ‘अपांगता भएका व्यक्तिले पनि समाजमा गहिरो सन्देश दिन सक्छन्। प्रेरणादायी काम गरेर देखाउन सक्नुपर्छ। त्यसका लागि हिम्मत र आँट देखाउनुपर्छ।’