कञ्चनपुर, जेठ ,२५ । सुदुरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरुमा भ्रष्टाचार विरुद्धका उजुरीहरु बढ्दै गएको छ । सुदुरपश्चिम प्रदेशमा विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा भ्रष्टाचार विरुद्धका उजुरीहरु पर्नेक्रम बढ्दै गएको पाइएको हो ।

सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर स्थित कार्यालयका अनुसार सुदुरपश्चिम प्रदेशमा पछिल्लो समय भ्रष्टाचार विरुद्धका उजुरीहरु आउनेक्रम बढ्दो छ ।

सुदुरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७७÷७८ मा कुल ९ सय ७ वटा उजुरीहरु परेकामा ७ सय ७ वटा उजुरीहरु फछ्यौट भएका थिए । यस चालु आर्थिक वर्ष २०७८÷७९ मा भने वैशाख मसान्तसम्म ५ सय ७९ वटा उजुरीहरु दर्ता भएकामा हालसम्म ७ सय ४२ वटा उजुरीहरु फछ्यौट भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा दर्ता भएका तर फछ्यौट हुन बाकी रहेर चालु आर्थिक वर्षमा सरी आएका उजुरीहरु सहित कुल ७ सय ४२ वटा उजुरीहरु यस चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म फछ्यौट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर स्थित कार्यालयका सुचना अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिनु भयो । उहाका अनुसार सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढि भ्रष्टाचारका उजुरीहरु पर्ने जिल्लामा एक नम्बरमा कैलाली जिल्ला रहेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा २ सय ३४ वटा उजुरीहरु दर्ता भएको कैलाली जिल्लामा यस चालु आर्थिक वर्ष २०७८÷७९ को बैशाख मसान्तसम्ममा १ सय ६८ वटा उजुरीहरु दर्ता भएका छन् । यस्तै सबैभन्दा कम उजुरीहरु पर्ने जिल्लामा सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्ला रहेको छ । बाजुरा जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा ४२ वटा उजुरीहरु परेका थिए ।

यस चालु आर्थिक वर्ष २०७८÷७९ मा भने बाजुरामा कुल ३५ वटा उजुरीहरु परेका छन् । यस्तै सुदुरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा चालु आर्थिक वर्ष २०७८÷७९ को वैशाख मसान्तसम्ममा कञ्चनपुरमा १ सय १६, डोटीमा ५७, बझाङमा ५१, बैतडी र डडेल्धुरामा ४३÷४३, दार्चुलामा ३४, अछाममा ३२ वटा उजुरीहरु दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुस