कञ्चनपुर जेठ २७ । सुदूरपश्चिम सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गर्नु भएको हो । छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मुख्यमन्त्री त्रिलोचन भट्टले दिएसँगै प्रदेशसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो।

दशौं अधिवेशनको नवौं बैठकमा निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रमलाई सभामुख थापाले सर्वसम्मतिले पारित भएको घोषणा गर्नु भएको हो । यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए ।

सभाको छलफलमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहरा, एकीकृत समाजवादी पार्टीकी अर्चना गहतराज, एमालेका बलदेव रेग्मी, गेल्बुसिंह बोहरा र रतनबहादुर थापाले भाग लिएको थिए । उहाहरुले प्राथमिकता एकातिर हुने र नीति तथा कार्यक्रम र बजेट अर्कै हुने गरेको गुनासो गरेका थिए ।

मुख्यमन्त्री त्रिलोचन भट्टले सांसदहरुलाई प्रस्तुत नीति तथा कार्यक्रमअनुरुप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए । सरकारबाट भएका कमीकमजोरी औंल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुस