सुनिल राना
कञ्चनपुर, २७ साउन
कञ्चनपुर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीहरुको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । उद्योगी, व्यवसायीहरुको समाजिक सुरक्षाका लागि वाणिज्य सघले जिल्लाका उद्योगी, व्यवसायीहरुको निःशुल्क दुर्घटना बीमा गर्ने भएको हो ।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्टले चालु आर्थिक बर्ष ०८३÷०८४को साउन मसान्त भित्रै नविकरण गरेका वाणिज्य संघका साधारण सदस्यको सुरक्षाका लागि दुर्घटना बीमा गर्न लागेको बताए ।
‘हरेक उद्योग व्यवसायीहरुको दुई लाख रुपैयाको बीमा गर्न लागेका छौँ, ‘उनले भने, ‘त्यसका लागि हामीले कोटेशन मार्फत बीमा कम्पनीहरुलाई आब्हान गरेका छौँ ।’
वाणिज्य संघबाटै बीमा गरिदिएपछि जिल्लाका उद्योगी, व्यवसायी सुरक्षित हुने अपेक्षा गरिएको छ । साउन पहिलो साता भारतको गोवा अध्ययन अवलोकन भ्रमणमा निस्किएका वाणिज्य सघका पदाधिकारी, सदस्यले त्यहाँ औद्योगिक, व्यापारिक बृद्धि विकास बारे सिकेका विषयबस्तु व्यवहारिक रुपमा कार्यान्वयनमा जोडदिएका छन । भ्रमण टोलीका संयोजक समेत रहेका वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकास साउदले भ्रमणबाट प्राप्त उपलब्धी जिल्लामा पनि कार्यान्वयन गरेर औद्योगिक व्यापारिक बृद्धि विकासका कार्यक्रम गरिने बताए । उनले आफ्नै निजी खर्चमा गएको बताउँदै अनपेक्षित सिकाई भएको बताए ।
वाणिज्य संघका उद्योग उपाध्यक्ष तेज बहादुर चन्दले जिल्लाको औद्योगिक, व्यापारिक बृद्धि विकासका लागि पश्चिमी बनबासा नाका अवरोध भएकाले यसको निकासका लागि पहल गरिने बताए । ‘सीमित खुल्ने नाकाले यस क्षेत्रबाट स्वदेशी तथा विदेशी पर्यटकदेखि आन्तरिक उद्योगी, व्यवसायीका लागि कारोबारमा समेत प्रभाव परेको छ, ‘अब नाका विस्तारसंगै नाकाको फ्लु समेत बढ्छ, तब हाम्रो जिल्लाको व्यापार बृद्धि हुन्छ ।’
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले संघले अघि सारेका सबै योजना समाजिक विकासदेखि यस क्षेत्रका आर्थिक बृद्धिका लागि भएको बताए । अध्यक्ष मल्लले बजारको अध्ययन गरेर शनिबार बजार बन्द गरेर सरसफाईदेखिका कार्यक्रम ल्याएको बताए । उनले आफ्नो ठाँउ बनाउनका लागि अरु कोही नआई आफैबाट शुरुवात गरेर अघि बढ्नुको विकल्प नभएको औल्याएका छन । अध्यक्ष मल्लले उद्योग, व्यापारी, उपभोक्ता सहितका सुरक्षाका कार्यक्रम अघि बढाईने बताए । यसैविच कञ्चनपुर उद्योग वाणिज्य संघले प्रेस सल्लाहकारका युवा पत्रकार महादेव अवस्थीलाई मनोनित गरेको छ । यस अघि कानूनी सल्लाहकार मात्रै रहेको संघमा अब प्रेस सल्लाहकार समेत रहनेछन । दशक बढि समयदेखि सकृय पत्रकारिता गर्दै आएका पत्रकार अवस्थीले आफुलाई संघले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिज्ञा गरेका छन ।

