
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँमा रानाथारु समुदायको मौलिक संस्कृति, परम्परा र संस्कारसँग जोडिएको साउने डोलाको विधिवत् उद्घाटन गरिएको छ । रानाथारु दिदीबहिनीहरूले परम्परागत रूपमा मनाउँदै आएको तीज पर्वको अवसर पारेर आइतबार एक कार्यक्रमका बीच डोलाको उद्घाटन गरिएको हो । लालझाडी गाउँपालिका–३ का वडा अध्यक्ष टिकाराम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा परम्परागत विधिअनुसार साउने डोलाको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले समुदायको पहिचानसँग जोडिएका मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताए । पुस्तौँदेखि चल्दै आएका सांस्कृतिक परम्परा संरक्षण गर्न स्थानीय तहले आवश्यक सहयोग र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए । “संस्कृति र परम्परा समुदायको पहिचान हो । आधुनिकताको प्रभावसँगै मौलिक संस्कार र परम्परा हराउँदै जाने अवस्था आउन नदिन स्थानीय तह, समुदाय र नयाँ पुस्ताबीच सहकार्य आवश्यक छ,” अध्यक्ष चौधरीले कार्यक्रममा बताए । रानाथारु समुदायमा साउने डोला केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकता, आपसी सद्भाव र मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा मानिन्छ । डोलाको माध्यमबाट समुदायका महिला तथा युवापुस्तासमेत सांस्कृतिक गतिविधिमा सहभागी हुने भएकाले यसले पुस्तान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको भनाइ छ । पछिल्लो समय आधुनिक जीवनशैली, बदलिँदो सामाजिक परिवेश तथा नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण घट्दै जाँदा परम्परागत संस्कृति संरक्षण चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्ता कार्यक्रमले सांस्कृतिक निरन्तरतामा महत्वपूर्ण योगदान पु¥याउने सहभागीहरूले बताएका छन् । रानाथारु तिज मिलन कार्यक्रम वडा नं. ३ नन्दगाउँका अध्यक्ष प्रिति रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सभापति रानाले यस वर्ष तिज मिलन कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरी सहयोग गरेकोमा वडा कार्यालय तथा वडा अध्यक्ष टिकाराम चौधरीप्रति धन्यवाद व्यक्त गरिन् । उनले आगामी वर्षहरूमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्दै समुदायका सांस्कृतिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै पक्षको साथ आवश्यक रहेको बताइन् । कार्यक्रमको सञ्चालन शिक्षक मानबहादुर रानाले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न गाउँका भलमन्सा, पधना, समाजसेवी, बुद्धिजीवी, शिक्षक तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सहभागीहरूले रानाथारु समुदायको मौलिक संस्कृति, भाषा, संस्कार र परम्पराको संरक्षणका लागि समुदायस्तरबाटै निरन्तर पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।

