काठमाडौं । गत मंगलबार दिउँसो तीन बजे, राहदानी विभागस्थित १५ नम्बर कोठाको झ्याल अगाडि दाङ घोराहीका निराजन शाही हैरान देखिन्थे ।

हातमा फाइलको बोकेका उनी घरबाट आएकी सालीको राहदानी बनाउन बिहान सात बजेदेखि लाइनमा थिए। तर दिउँसो तीन बजेसम्म उनको पालो नै आएको थिएन ।

‘तीन दिनदेखि धाइरहेको छु । तर जतिबेलै एकछिनमा हुन्छ एकछिनमा हुन्छ भन्नुहुन्छ,’ शाहीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म पालो नै आएको छैन।’

शाहीकी सालीले विदेश जाने प्रक्रिया अगाडि बढाएपछि उनले तत्काल रहादानीको प्रक्रिया बढाइदिए, १२ हजार रूपैयाँ तिरेर ।

१२ हजार तिरेपछि विभागले कम्तीमा २४ घण्टा र बढीमा ४८ घण्टामा राहदानी उपलब्ध गराउनुपर्ने हुन्छ । तर शाही राहदानीका लागि रकम भुक्तानी गरेकै एकसाता नाघिसकेको छ।

शाहीकी सालीको राहदानी नबन्नुमा मुख्य कारण हो, राष्ट्रिय परिचयपत्रको ‘एनआईडीएमआईएस’ प्राणालीमा आएको समस्या । ‘एनआईडीएमआईएस’ प्रणालीमा देखिएको समस्याले राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर राहदानी विभागले प्रमाणीकरण गर्न सकेको छैन।

राहदानीकै लागि पोखरा-१६ बाट आएका डिलहादुर परियार त मानसिक तनावमै पुगिसकेको देखिन्थे।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्टका लागि लाइनमा बसेका सेवाग्राहीहरूको भिड/फाइल तस्वीर
१५ नम्बर कोठाको झ्यालमा जब उनलाई राहदानी बन्न केही दिन अझै लाग्ने भनेपछि उनी दाह्रा किट्दै मुखबाट अपशब्द नै बोले ।

‘दुई हप्ताभन्दा धेरै भइसक्यो तर अझै समय लाग्छ भन्छन्। के सिस्टम हो यो ?, उनी झोकिँदै अनलाइनखबरसँग भने, ‘१२ हजार यसैको लागि तिरेको हो ? कति बस्नु यहाँ होटलमा ? २५ हजारभन्दा धेरै खर्चिसकें ।’

डिलहादुरको पनि राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर राहदानी विभागले प्रमाणीकरण गर्न सकेको छैन । विभागले उनको राष्ट्रिय परिचयपत्रको फारममा ‘तपाईंको विवरण सिस्टममा देखाएन’ लेखिदिएको छ ।

दोलखा, जिरीबाट आमासहित आएका कुशल तामाङ पनि उही समस्याले आक्रोशित थिए । उनकी आमाले अनलाइनखबरसँग भनिन्, ‘यसमा सरकारले के गरिरहेको छ? जुन जोगी आएपनि कानै चिरेका भइरहेको छ । हामी जनता सधैं दु:ख नै भोग्नु पर्ने।’

राहदानी विभागमा यही समस्याले हजारौं सेवाग्राही सास्ती खेपिरहेको विभागको १५ नम्बर कोठाकै दृश्यले छर्लङ हुन्छ ।

लामो लाइन लागेर सेवाग्रही झ्यालसम्म पुग्छन्, तर झ्यालमा पालो आउने बित्तिकै सबै विवरण भएको फाइल र १२ हजार तिरेको रसिद देखाउँदा भित्रबाट राष्ट्रिय परिचयपत्रको विवरण भएको कागजको माथिल्लोपट्टी रातो कलमले कर्मचारीले लेखिदिन्छन्, ‘तपाईंको विवरण हाम्रो सिस्टममा देखाएन।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सर्भरमा समस्या देखिंदा यसको असर केवल राहदानी विभागमा मात्रै परेको छैन, परिचयपत्र अनिवार्य भएका अन्य शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, चिकित्सा शिक्षा आयोग, यातायात व्यवस्था विभाग, सूचना प्रविधि विभाग, आन्तरिक राजस्व विभाग, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, कर्जा सूचना केन्द्र, राष्ट्रिय किताबखाना (निजामती), नेपाल राष्ट्रबैंक, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालय गरी १३ निकाय पनि प्रभावित छन् ।

पञ्जीकरण विभागको सर्भरमा समस्या आउँदा राहदानी विभागले समस्या समाधान गर्न पञ्जीकरण विभागले पत्र नै लेखेको थियो ।

सोको जवाफमा भने साउनको सात गते नै विभागले राहदानी विभागलाई आवश्यक सहयोगको लागि आग्रह गर्दै जवाफ फर्काएको थियो।

‘यस विभागमा सञ्चालनमा रहेको ‘एनआईडीएमआईएस’ प्राणालीबाट राष्ट्रिय परिचयपत्रका लागि इन्‍रोलमेन्ट गर्ने व्यक्तिहरूको राष्ट्रिय परिचयपत्र नम्बर जारि हुने भइरहेको तर यस प्रणालीसँग आबद्ध भएका सेवाका लागि सिटजन पोर्टल बाट हेरी रुजु गर्ने प्रणालीबाट प्रमाणीकरण तुरून्त नभएका कारण राहदानी बनाउन समस्या उत्पन्न भएकोले सेवाग्रहीहरू यस विभागमा नै आउने गरेकोले उक्त विषयमा यस विभागमा आउने सेवाग्रहीलाई व्यक्तिगत रूपमा सहजीकरण गरिदिनु,’ पत्रमा लेखिएको छ।

‘सेवाग्रहीको सुविधा र सहजताका लागि प्रणालीबाट प्रमाणीकरण हुने कार्य पूर्ण सञ्चालनमा नआउँदासम्मको अवधिका लागि व्यक्तिलाई एनआईडीएमआईएस प्राणालीबाट उपलब्ध गराइएको प्रमाणित कन्फर्मेसन पेजको आधारमा त्यहाँ विभागबाट राहदानी बनाउन सहजीकरण गरिदिनुहुन निर्णयानुसार अनुरोध छ,’ पत्रमार्फत भनिएको छ।

साथै, विभागले मर्मत सम्भारको कार्य पूर्ण रूपमा सकेपछि जानकारी गराउने भनेको थियो । तर हालसम्म राहदानी विभागलाई पञ्जीकरण विभागबाट समस्या समाधान भएको कुनै पत्र प्राप्त नभएको राहदानी विभागका प्रवक्ता दिपक बन्जाडेले अनलाइनखबरसँग भने।

‘राष्ट्रिय परिचयपत्रको समस्याका कारण सेवाग्राहीको दबाब हामीमाथि आइरहेको छ । त्यहीकारण हामीले सधैं उहाँहरूलाई सम्पर्क गरेर चाँडै समाधान गर्न भनिरहेका छौं,’ बन्जाडेले अनलाइनखबरसँग भने, ‘उताबाट यो विषयको समाधानका लागि हामी प्रधामन्त्रीसँग पनि कुरा गरिरहेका छौं अब चाँडै समाधान हुन्छ भन्नुहुन्छ ।’

पञ्जीकरण विभागले यस्तो पत्र राहदानी विभागलाई मात्रै लेखेको छैन, बरु अन्य १३ वटा निकायलाई पनि ११ साउनमा नै लेखिसकेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सर्भरमा यस्तो समस्या पहिलोपटक आएको होइन । असारको अन्तिम साता पनि विभागको सर्भरमा समस्या आउँदा परिचयपत्र बनाउन नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका थिए ।

परिचयपत्र लिन लामो समयदेखि लाइनमा बसेपछि मात्रै सेवाग्राहीले सर्भर नचलेको जानकारी पाउँदा आक्रोशित समेत बनेका थिए ।

विभागको सर्भरमा समस्या वैशाखको अन्तिम साता पनि देखिएको थियो । लगातार दुई सातासम्मै सर्भरमा समस्या आउँदा सेवाग्राहीहरू विभागको कार्यालयमै पुगेर प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र बनेपछि विभागले प्रहरी परिचालन नै गर्नुपरेको थियो।

कर्मचारीहरूमा माथि हातपातको प्रयास भएपछि विभागले तुरुन्तै एउटा सूचना जारी गर्दै माफी समेत मागेको थियो।

सूचनामा भनिएको थियो, ‘२०८३ वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएकाले र यसको मर्मत कार्य जारी रहेकाले सो कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचयपत्र नम्बरलाई प्रणालीले प्रमाणित गर्ने सेवा अवरूद्ध भएको व्यहोरा सबै सरोकारवाला एवं सेवाग्राहीहको जानकारीका लागि यो सूचना प्रवाह गरिएको छ।’

मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सुचारु हुने व्यहोरा सूचनामार्फत जानकारी गराउँछौं।

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरूद्ध हुन गएकाले यसबाट सर्वसाधारणमा पुग्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ’, विभागले २३ गते जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध भएको सूचनामा भनिएको थियो ।

बारम्बार पञ्जीकरण विभागको सर्भरमा समस्या आएपनि सूचना प्रविधि निर्देशक राम थापा भने अस्वीकार गर्छन् ।

उनकाअनुसार यस्तो खालको समस्या विभागले पहिलो पटक नै देखेको हो। ‘हाम्रो सर्भरको क्षमता पहिला दैनिक १३ हजार पर्फरमेन्सको थियो त्यो अहिले हजार /१५ सयमा झरेको छ । यो समस्या त समस्या नै हो,’ थापा भन्छन्, ‘अब २०१८ देखि चलेको सिस्टमको क्षमता समयमै नबढाएपछि यो परिस्थिति आएको हो ।’

अनलाइनखबरले थापालाई क्षमता अभिवृद्धिका लागि सरकारलाई सरकार जानकारी थियो कि थिएन भनेर प्रश्न सोध्दा, थापा भन्छन् ‘हामीले पटकपटक सरकारलाई जानकारी गराएका थियौं । अहिले सिस्टम अप्डेट भइरहेको छ । ३-४ दिनमा यो समस्या समाधान हुन्छ।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग गृह मन्त्रालयअन्तर्गत पर्छ ।

पञ्जीकरण विभागका कर्मचारीहरू पटक-पटक मन्त्रालयसँग यो विषयमा छलफल गरे पनि हालसम्म समस्याको समाधान निकाल्न सकेको छैन ।

पञ्जीकरण विभाग गृह मन्त्रालयअन्तर्गत परे पनि बारम्बार यस्तो समस्या आउँदा पनि मन्त्रालयले किन यो विषयमा चासो नदिएको भनेर सूचना अधिकारी रमा आचार्यलाई पनि सोध्दा उनले गोलमटोल जवाफ दिइन्।

‘विभाग मन्त्रालयअन्तर्गत नै पर्ने भएर हामीले यो विषय बुझिरहेका छौँ,’ आचार्यले भनिन्, ‘विभागले यो विषय छिट्टै नै समाधान गर्ने प्रयास गर्दैछ।’

प्रतिक्रिया दिनुस