कञ्चनपुर, असोज ५
कञ्चनपुर भीमदत्त नगरपालिका १६को राना थारु सामुदायिक सिकाइ केन्द्रको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार राना थारु सामुदायिक सिकाइ केन्द्रको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा केन्द्रका गतिविधि, उपलब्धि तथा आगामी कार्यक्रमका विषयमा छलफल गरिएको छ । केन्द्रको कार्यक्षेत्र फराकिलो भए पनि सीमित स्रोत–साधनका कारण उपलब्ध अवसर र कार्यक्षेत्रको पूर्ण उपयोग गर्न केही कठिनाइ रहेको उल्लेख गर्दै जोशीले आवश्यक कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आफ्नो क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले केन्द्रबाट सिकेका ज्ञान, सीप र कुराहरूलाई व्यवहारिक जीवनमा समेत प्रयोग गर्नुपर्नेमा जोड दिँदै सिकेको कुरा व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि भीमदत्त नगरपालिका–१६ का वडाध्यक्ष केशव सिंह बिष्टले सामुदायिक सिकाइ केन्द्र समुदायसँग प्रत्यक्ष जोडिएको संस्था भएकाले स्थानीय आवश्यकता र जनजीवनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै केन्द्रलाई अझ प्रभावकारी बनाउन स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय गरिने उनले बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाको सहयोगमा राना थारु समुदायको मौलिक पोसाक घागरा चोली समेत प्रदान गरिएको र आगामी दिनमा समेत यस्ता कला सस्कृती संरक्षणका कार्यक्रम समेत ल्याउने छौं । कार्यक्रमको अध्यक्षता राना थारु सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नवीन रानाले गरेका थिए ।अध्यक्ष रानाले केन्द्रले समुदायमा आधारभूत शिक्षा, सीप विकास तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा स्रोत–साधनको व्यवस्थापनसँगै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सामुदायिक सिकाइ केन्द्रहरूले आधारभूत शिक्षा तथा सीपमूलक शिक्षा प्रदान गर्दै समुदायको शैक्षिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । साधारण सभामा केन्द्रका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

