नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो ।

भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो । केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनुपर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि यहाँ आउने भएको हो ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणले यही असार १५ गते धान दिवसका अवसरमा मूल नहरमा पानी ल्याएर दिवस मनाउने तयारी गरिरहेको छ । महाकाली सिँचाइले यसअघि ब्रह्मदेवदेखि करिब १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । थप १५ किलोमिटर नहर निर्माण कार्य अन्तिम चरणमा छ ।

प्रतिक्रिया दिनुस