धनञ्जय अवस्थी महेन्द्रनगर, ५– कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा भएको कुरूपता, अव्यवस्थित फोहोर मैलाको व्यवस्थापन नभएको भन्दै भीमदत्तनगरपालिका विरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दायर भएको रिटको आज सुनवाइ भएको छ।
रिट निवेदक अधिवक्ता धर्मानन्द जोशीले नगरभित्रका सडकका खाल्डा खुल्डी, महेन्द्रनगर बजार क्षेत्रमा थुपारिएको फोहोरका डगुंरले बजार कुरूप हुदैजादा, प्रदूषित वातावरणले आम जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्दा समेत व्यवस्थापनमा नगरपालिकाले किन चासो नदिएको भन्दै व्यवस्थापनको माग सहित अन्तिम आदेश जारी गरी पाउँ भनेर निवेदन दिएका थिए।
सो रिटमा न्यायाधीश रमेश बहादुर थापाको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? जारी नहुनुपर्ने कुनै आधार, कारण भए सबुद प्रमाण सहित १५ दिन भित्र उच्च सरकारी वकीलको कार्यालय महेन्द्रनगर मार्फत र अन्य विपक्षीहरूका हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखीत जवाफ पेस गर्न आदेश दिएको हो।
भीमदत्तनगरपालिकाका कार्यालय, कार्यालय प्रमुख, मेयर सुरेन्द्र बिष्ट, उपमेयर सुशीला चन्द सिह, भीमदत्तनगरपालिका –४ का वडा अध्यक्ष लक्ष्मी पाण्डेय, जिल्ला प्रकाशन कार्यालय कञ्चनपुर र प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइ १५ दिन भित्र जवाफ पेस गर्न आदेश दिइएको छ।
नगरपालिकाले वर्षै नि फोहर मैला व्यवस्थापनका नाममा लाखौँ बजेट छुट्याएपनि बजार व्यवस्थापन र फोहोर मैला ज्यु का त्युँ रहेको छ। नगरपालिका क्षेत्रबाट सङ्कलन गरिएको फोहोर मैला जिल्ला प्रकाशन कार्यालय अगाडी थुपारिँदा समेत जिल्ला प्रशासनले समेत कुनै चासो देखाएको छैन। राजमार्ग क्षेत्रका सडकमा भएको दुर्गन्धले यात्रामा कठिनाइ भइरहेको छ।
फोहोर मैला व्यवस्थापनका लागी नगरपालिकाले उचित स्थान छनौट गर्न सकिरहेको छैन। जनप्रतिनिधि आएको तिन वर्ष बितिसक्दा समेत नगरको उचित सम्भार र व्यवस्थापन हुन सकेको छैन।
प्रतिक्रिया दिनुस