दोदा नदीको बाढीबाट पीडित जीवन रानाको परिवार शुक्लाफाँटा नगरपालिकाको डिलाशैनी सामुदायिक वन क्षेत्रमा टहरो बनाएर बसेको तेह्र वर्ष पुगेको छ। उनीसंग रहेको चार बिघा जग्गामध्ये दुई बिघा जग्गामा वर्षौँदेखि दोदा बगिरहेको छ। बाँकी दुई बिघा जग्गा नदीमा आएको बाढीले बगरमा परिणत भएको थियो। बाढीबाट विस्थापित रानासंँग कमाइ खाने जग्गा बगेपछि मजदूरीबाहेक बाँच्नका लागि अर्को विकल्प छैन।

दोदाको बाढीवाट विस्थापित रानासहितको परिवारलाई अर्को व्यवस्था नहुँदासम्मका लागि तत्कालीन समयमा भूमिसुधार, जिल्ला वन र जिल्ला प्रशासन कार्यालयले डिलाशैनी सामुदायिक वनमा बस्नका लागि अनुमति दिएका थिए। ‘‘जनताको हकहितका लागि भनी देशमा महत्वपूर्ण परिवर्तन भई शासन व्यवस्थासमेत फेरियो”, जीवनले गुनासो सुनाए, “तर हाम्रा समस्या समाधानमा कसैले चासो नदिँदा पीडामाथि पीडा थपिँदै छ ।”

शुक्लाफाँटा नगरपालिकाको उक्त वन क्षेत्रमा झुप्रो टहरो बनाएर बसोबास गरिरहेका बाढीपीडित परिवार वर्षौँदेखि पुनःस्थापनाको पर्खाइमा छन्। यस अवधिमा स्थानीय, सङ्घ र प्रदेशका निर्वाचन पनि सम्पन्न भई सबै तहले काम गरिरहे पनि आफूहरुको अवस्थाप्रति कसैको नजर नपुगेको गुनासो उनीहरुको छ। ‘‘हरेक चुनावका समयमा मत माग्न आउने उम्मेदवार विजयी भएपछि कहिल्यै फर्केका छैनन”, अर्का बाढीपीडित राजकुमार रानाले भने, “नदीले दिउँसै घरसहितको जग्गा बगाएको त्यति बेलाको घटना पटकपटक स्मरण भइरहँदा राति निद्रा नपरेर अत्तालिन्छु ।”

तत्कालीन देखतभूली गाविस(६ स्थित जग्गा नदीको बाढीले बगाएपछि विस्थापित परिवारलाई उक्त सामुदायिक वन क्षेत्रमा अस्थायी रुपमा बसोबास गराइएको थियो। कञ्चनपुरको मध्यभाग हुँदै बग्ने दोदा र वनहरा नदीमा विसं २०६४मा आएको बाढीले घरजग्गा बगाएका ३६ परिवार सामुदायिक वनमा बस्दै आएका छन् । ती परिवारको झण्डै ६० बिघा जग्गा बगरमा परिणत भएको थियो । छ बिघा जग्गा नदीले बगाएर पीडित भएका महादेव राना अरुकहाँ मजदूरी गरेर जीविका चलाइरहेका छन्। उनले भने, ‘‘आफ्नो सबै जग्गा बगाएर यस्तो दिन देख्नुपर्ला भनेर सोचेका थिएनौंँ ।”

सामुदायिक वनमा बस्दै आएका परिवारमध्ये केहीे छिमेकी गाउँका किसानको अधियाँ९बटैया०मा खेत कमाएर परिवार पाल्दै आएका छन्। कतिपय परिवारका युवा भारत गएर कमाइ गर्न थालेकामा पछिल्ला महिनामा देखिएको कोरोना सङ्क्रमणको जोखिमसँगै घर फिर्ता हुँदा आफूहरुको जीवनयापन थप असहज बनेको विस्थापितको गुनासो छ। बाढीपीडित परिवारलाई वैशाख –जेठमा आउने हावाहुरीले ज्यान जोगाउनसमेत मुश्किल हुन्छ। हावाहुरी चलेका समयमा रुखमुनि बनाइएका टहरा छाडी बालबालिका बोकेर सुरक्षित स्थानमा जानुपर्ने वाध्यता विस्थापितलाई छ। विस्थापित रामस्वरुप रानाले भने, “जेठ महिनातिर आउने भीषण हावाहुरी र चट्याङका कारण टहरामा हामीहरुको ज्यान जोखिममा पर्ने गरेको छ।”रासस

प्रतिक्रिया दिनुस