कैलालीको चिसापानीमा बिच भलिबल प्रतियोगिता हुने भएको छ। चिसापानी एडभेन्चर रिसोर्टले बुधवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लाको मोहन्याल गाउँपालिका ७ पितमारी स्थित चिसापानीको बालुवामा बिच भलिबल प्रतियोगिता गरिने जनाएको हो। सुदूरपश्चिममा खेल पर्यटनलाई विकास गर्ने उद्देश्यले सुदूरपश्चिमका ८८ ओटै स्थानीय तहहरूलाई समेट्ने गरी बिच भलिबल प्रतियोगिता आयोजना गरिन लागेको रिसोर्टका सञ्चालक तपेन्द्र रावलले बताए।

खेल आगामी चैत्र १० देखि चैत्र १६ गतेसम्म खेलाइने र खेलसँगै सांस्कृतिक महोत्सव पनि सञ्चालन हुनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। प्रतियोगितामा सुदूर पश्चिमका सम्पूर्ण स्थानीय तहबाट एक एक ओटा भलिबल टिमको सहभागिता गराइनेछ। सहभागिताका लागि टिम दर्ता शुल्क १० हजार तोकिएको छ। २० गतेसम्ममा टिम दर्ता गराई सक्नु पर्ने आयोजक चिसापानी एडभेन्चर रिसोर्टले जनाएको छ।

नेपाल मै पहिलो पटक कर्णाली नदी किनारको बालुवामा हुने बिच भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख, द्धितीय हुने टिमलाई ५० हजार र तृतीयलाई २५ हजार नगदसहित प्रमाणपत्र र ट्रफीको व्यवस्था गरिएको छ। एक टिममा दुई जना मात्रै खेलाडी रहनेछन्। खेल अवधिसम्म खेलाडीको खाने बस्ने व्यवस्था निःशुल्क गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुस