घरभित्रै निस्सासिएर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेहोस भएका छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–३ पुडिलका अन्दाजी ३५ वर्षीय राजसिंह साउँद छन्। यस्तै बेहोस हुनेमा राजसिंहकै भतिजी २० वर्षीया सरिता रहेकी प्रहरीले जनाएको छ। गएराति बन्द कोठाभित्रै हिटर बालेर सुतेका दुवैजना बुधबार बिहान बेहोस अवस्थामा फेला परेका मृतकका दाइ चन्द्रले जानकारी दिए।

राजसिंहको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा पाटन नपुग्दै मृत्यु भएको हो। सरितालाई भने उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। मृतक राजसिंहको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको साउँदले बताए। राजसिंहले मंगलबार मात्रै धनगढीबाट कुखुराका चल्ला ल्याएका र खोर बन्न बाँकी रहेकोले कोठाभित्रै राखेका थिए। चन्द्रले भने, ‘कुखुराका चल्लालाई चिसो हुन्छ भनेर कोठामा हिटर चलाएका रहेछन्, बन्द कोठा भएर निस्सासिएर यस्तो घटना भयो।’

प्रतिक्रिया दिनुस