प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउनमा जान नहुने सुझाव सरकारलाई दिएको छ। संक्रमण रोकथामका अरु विधिलाई प्रभावकारी बनाइनुपर्ने तर लकडाउनमा जान नहुने सुझाव आफूहरुले प्रधानमन्त्रीलाई दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणका लागि दलहरुको राय माग गरेका थिए।

‘हामीले लकडाउन भन्दा पनि कोरोना रोकथामका अरु उपायमा जानुप¥यो भनेर सुझाव दियौँ’, पौडेलले भने। उनले कोभिड–१९ को संक्रमण रोकथामका लागि गम्भीर बन्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए। ‘सरकारले आइसोलेशन सेन्टरहरु आवश्यक मात्रामा बनाउनुप¥यो। रोकथामका विधिहरुमा पूरा ध्यान दिनुप¥यो भनेका छौँ’, पौडेलले भने, ‘तर लकडाउन नै गर्नु हुँदैन । लकडाउन ठिक हैन भनेर सुझाव दियौँ।’पौडेलले कांग्रेसका पालामा भएको एमसिसी सम्झौता अनुमोदन गर्न भइरहेको ढिलाइप्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए। उनले भने, ‘ एमसीसीको बारेमा पनि प्रष्ट कुरा राखेका छौँ। आपत्तिजनक केही छ भने छलफलमा ल्याउनुस् । हैन भने ढिलाइ गरिनु हुँदैन भनेर कुरा राख्यौँ।’पौडेलले लडेर ल्याएको व्यवस्था जोगाउन सबै लाग्नुपर्ने बताए।

‘आफ्नो कुर्सी बचे मात्रै व्यवस्था बच्छ भन्नेतर्फ सरकारमा रहेकाहरु लागे। व्यवस्थामाथि किन खेलवाड भइरहेको हो’, पौडेलले भने। सरकार परिवर्तनबारे पत्रकारले राखेको जिज्ञासामा पौडेलले भने, ‘देशलाई निकास चाहिन्छ भन्ने हाम्रो भनाइ हो। बैठकमा त्यो कुरा भयो। हामीले प्रयत्न गरिरहेका छौँ तर संख्या पुगेन भने के गर्न सकिन्छ र?’यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा कोरोना भाइरसको महामारी नियन्त्रणका उपायहरु, रिक्त प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीयतहका पदमा गर्ने उप निर्वाचनबारे छलफल भएको जानकारी दिए। संसदमा अड्किएका बिजनेश तथा पछिल्ला राजनीतिक विषयमा कुराकानी भएको उनले बताए ।

खुला सिमाना तथा अरु कारणले संक्रमण फैलिरहेको अवस्थामा सबै दल सावधानी अपनाउन र सरकारले थप प्रभावकारी कदम चालोस भनेको र आफूहरुको साथ रहने बताएको उनले जानकारी दिए । संक्रमण नियन्त्रणका लागि आवश्यक परेको अवस्थामा विद्यालय बन्द गर्न तथा भिडभाड हुने खालका जात्रासहितलाई स्थगित गर्न सुझाव आएको बताए । एमसीसी संसदमा अड्किएको अवस्थामा सभामुखले आफ्नो अधिकार भन्दा बाहिर गएर रोकेकोले त्यस विषयमा पनि छलफल भएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसबारे छलफल गर्ने कुरा भएको उनले बताएका छन् । उनले भने, ‘खबर आएन भनेर भन्नु झुट हो, उहाँहरु किन आउनु भएन थाहा भएन । उहाँहरुले बुझ्नु पर्छ कि उहाँहरु नहुँदा पनि काम रोकिँदैन।’

प्रतिक्रिया दिनुस