सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका डोटीको सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन्। उनी बगेर बेपत्ता भएदेखि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको डोटी प्रहरीले बताएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले भने, “युवक बगेर बेपत्ता भएको खबर पाएदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजी जारी राखेका छौँ, अहिलेसम्म फेला पार्न सकेका छैनौँ ।”
दिपायल सिलगढी नगरपालिका–४ दिपायल पिपल्ला नजिक रहेको सेती नदीमा शनिबार नुहाउँदै गर्दा बोगटी एकाएक बेपत्ता भएका थिए । “कपडा नदीको किनारामा भेटिएको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन्”, प्रहरी नायब उपरीक्षक मल्लले भने , “हामीले हिजो रातिसम्म नदीमा खोज्यौँ, कतै फेला पारेनौँ, अहिले पनि खोजीमा टोली खटिएको छ, खोजी जारी छ ।”
नदीमा पानी धमिलो भएका कारण पनि खोजी कार्यमा केही कठिनाइ भएको प्रहरीको भनाई छ। चैत महिनामा सेतीमा पौडी खेल्दा एक जनाको डुबेर मृत्यु भएको थियो भने शनिबार बोगटी बगेर बेपत्ता भएका छन्। गर्मीयाम शुरु भएकाले सेती नदीमा नुहाउन जाने क्रममा बर्सेनि यहाँका नागरिकको ज्यान जाने गरेको छ।