
जेठ ,१३ बैतडी, जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. ३ न्वादेउस्थित बिणेश्वर माध्यमिक विद्यालय, नाकालीमा सात सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
विद्यालयमा आयोजित अभिभावक तथा सरोकारवालाहरूको भेलाबाट नाकाली निवासी ग्रिश बहादुर कुँवरको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो। विद्यालयका प्रधानाध्यापक बिरेन्द्र बहादुरका अनुसार नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कार्य गर्नेछ।
प्रधानाध्यापक बिरेन्द्र बहादुरले विद्यालयको विकासका लागि अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार विद्यालयलाई अझ व्यवस्थित, अनुशासित र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न नवगठित समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको समग्र विकास, विद्यार्थीहरूको शैक्षिक उपलब्धि वृद्धि तथा आगामी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

