कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक कालोपत्रेको माग अघि सारेर वाईसियल बेलडाँडीले सडक अवरोध गरेको छ। नेकपा माओवादी केन्द्र निकट वाईसियलले समयकै सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनासंग ज्ञापन पत्रदेखि साँकेतिक सडकमा जाम एव प्रर्दशन गरेको वाईसियल बेलडाँडीले सोमबारदेखि सडक अवरोध गरेको हो।
वाईसियल बेलडाँडीका इन्चार्ज चेत बहादुर शाहले सडक निर्माणमा आयोजना र निर्माण कम्पनीले ढिलाई गरेका कारण यात्रु मारमा परेको विषय मध्य नजर गर्दै सडक अवरोध गरेको बताए। ‘हामीले पटक पटक आयोजना र ठेकेदारलाई भेटेर समयमै सडक निर्माण गरिदिने, भनेर अनुनय विनय गर्दै आएका थियौँ, ‘इन्चार्ज शाहले भने, ‘न ठेकेदारले टेरे न आयोजनाले ध्यान दियो, बाँध्य भएर सडक अवरोध गरेका हौँ ।’ वाईसियल बेलडाँडीका संयोजक दिपक खत्रीले सरकारबाट ठेक्का दिएर काम नगर्ने ठेकेदारमाथि सरकारले डण्डा बजाउन नसक्दा ठेकेदारले वेवास्ता गरेको बताए । पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ ।
डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे भएको छ । तीन फेजमा ठेक्का भएको सडक पहिलो र तेस्रो फेज शर्माजेभी निर्माण कम्पनी र दोस्रो फेज बाबाहंससिद्धिकीले निर्माणको ठेक्का पाएका थिए । कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता अनुरुप चालु आर्थिक बर्ष २०७७÷०७८ सम्म काम गरेको छैन ।