कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली अस्पताललाई रु १० लाख रकम सहयोग गरेको छ । महाकाली अस्पतालमा कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा अक्सिजन ग्यास खरिद, आइसियु तथा भेन्टिलेटर सञ्चालन र व्यवस्थापन गर्नका लागि वेदकोट नगरपालिकाले अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए।

उनले गत आइतबार महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)लाई संयुक्त रूपमा चेक हस्तान्तरण गरे। चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले यसरी नै अन्य स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकार, सरकारी तथा गैरसरकारी विभिन्न सङ्घसंस्थाहरू र अन्य व्यवसायी दाताहरूबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गरे।

महाकाली अस्पतालमा कोभिड–१९ को थप संक्रमण रोकथामका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य उपकरण अभावको समस्या भइरहेको बेला प्राप्त सहयोगले केही राहत पुग्ने अध्यक्ष जोशीको भनाइ छ । यसैबिच, भीमदत्त नगरपालिकाले समेत महाकाली अस्पताललाई रु. २० लाख रकम सहयोग गर्ने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए।

प्रतिक्रिया दिनुस