हेमा भट्ट

कञ्चनपुर । युवा खेलाडीलाई वर्षभरि गुणस्तरीय प्रशिक्षण उपलब्ध गराउने उद्देश्यका साथ होली फेम्ली क्रीकेट एकेडेमीले अत्याधुनिक इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको छ। क्रिकेट पूर्वाधार विकास र प्रतिभाशाली खेलाडी उत्पादनतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको उक्त सेन्टरको सोमबार एक विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको हो।

होली फेम्ली क्रीकेट एकेडेमीका अध्यक्ष तथा होली फेम्ली ग्रुप अफ स्कुलका चेयरम्यान भुपाल सिंह बिष्टको सभापतित्व तथा जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा खेलकुद क्षेत्रका प्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व, समाजसेवी, स्थानीय व्यवसायी, सुरक्षाकर्मी तथा सयौँ क्रिकेट खेलाडीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्दले होली फेम्ली क्रीकेट एकेडेमीले जिल्लामा क्रिकेटको विकासका लागि गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै इन्डोर ट्रेनिङ सेन्टरले खेलाडीलाई मौसमको प्रभावबिनै नियमित अभ्यास गर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले यस्ता पूर्वाधारले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

एकेडेमीका अध्यक्ष भुपाल सिंह बिष्टले क्रिकेटप्रति बढ्दो आकर्षणलाई व्यवस्थित प्रशिक्षणसँग जोड्ने उद्देश्यले इन्डोर ट्रेनिङ सेन्टर स्थापना गरिएको जानकारी दिए। उनले खेलाडीको सीप, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट क्रिकेट प्रतिभाको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। आगामी दिनमा आधुनिक प्रशिक्षण सामग्री, दक्ष प्रशिक्षक र थप खेलकुद पूर्वाधार विस्तारमा समेत एकेडेमी प्रतिबद्ध रहने उनको भनाइ थियो।

कार्यक्रमको स्वागत मन्तव्य एकेडेमीका उपाध्यक्ष महादेव प्रसाद भट्टले राख्दै क्रिकेट खेलको दीर्घकालीन विकासका लागि समुदाय, अभिभावक र सरोकारवालाको साथ आवश्यक रहेको बताए। उनले होली फेम्ली क्रीकेट एकेडेमीले खेलाडीको क्षमता अभिवृद्धिसँगै अनुशासन, नेतृत्व र सकारात्मक सोच विकासमा समेत प्राथमिकता दिँदै आएको उल्लेख गरे।

विशिष्ट अतिथि तथा होली फेम्ली माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण दत्त भट्टले खेल र शिक्षालाई सँगसँगै अघि बढाउने संस्थाको अवधारणाको प्रशंसा गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा यस्ता पहल प्रभावकारी हुने धारणा व्यक्त गरे।

समारोहमा सुदूरपश्चिम प्रदेशीय क्रिकेट संघका सचिव लक्ष्मण भट्ट, जिल्ला क्रिकेट संघका सचिव विशाल सोनार, समाजसेवी राजेन्द्र पाल, बिष्ट समाजका अध्यक्ष भवान सिंह बिष्टलगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, स्थानीय व्यवसायी, सुकासाल प्रहरी बिटका प्रमुख तथा ठूलो संख्यामा क्रिकेट खेलाडीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव हरि सिंह ठगुन्नाले गरेका थिए।

होली फेम्ली क्रीकेट एकेडेमीले सञ्चालनमा ल्याएको यो इन्डोर ट्रेनिङ सेन्टरले वर्षा, गर्मी वा अन्य प्रतिकूल मौसमका कारण अभ्यास प्रभावित हुने अवस्थाको अन्त्य गर्दै खेलाडीलाई वर्षभरि नियमित, सुरक्षित र व्यवस्थित प्रशिक्षणको अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।

स्थानीय खेलप्रेमीका अनुसार यो पहलले कञ्चनपुर मात्र होइन, समग्र सुदूरपश्चिम प्रदेशमा क्रिकेटको विकासलाई नयाँ गति दिनेछ। गुणस्तरीय प्रशिक्षण, आधुनिक अभ्यास वातावरण र संस्थागत प्रतिबद्धताका कारण होली फेम्ली क्रीकेट एकेडेमी आगामी दिनमा प्रतिभाशाली क्रिकेट खेलाडी उत्पादन गर्ने भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुस