काठमाडौं । केपी ओली सरकारले गरेकाे राष्ट्रघात र जनघातकाे विराेधमा उत्रिएका क्रान्तिकारी युवा र विद्यार्थीकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । प्रहरी धरपकडमा दर्जनाै नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएकाे छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल र अखिल (क्रान्तिकारी)काे संयुक्त आयाेजनामा माइतीघर मण्डलामा गरिएकाे विराेध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे हाे । प्रहरी हस्तक्षेप र धरपकडमा युवा र विद्यार्थी संगठनका दर्जनाै नेता कार्यकर्तालाई गिरफ्तार गरेकाे छ ।
प्राप्त जानकारी अनुसार क्रान्तिकारी युवा लिग, नेपालका अध्यक्ष अमीर महर्जन, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, क्रान्तिकारी युवा लिग, नेपाल सचिव सुरेश तामाङ लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्ने अन्यमा सुजन सापकाेटा, सुलभ वैध, विनाेद सापकोटा, अनुप सापकाेटा, प्रेमराज श्रेष्ठ, सुजन थापा, मिनप्रसाद गिरी लगायत रहेका छन् ।
पक्राउ गरिएका नेता कार्यकर्ताहरुलाई भृकुटीमण्डप स्थित महेन्द्र पुलिस क्लवमा राखिएकाे छ ।  युवा र विद्यार्थीहरुकाे विराेध प्रदर्शनमाथि गरिएकाे हस्तक्षेप र गिरफ्तारीकाे चाैतर्फी रुपमा विराेध भइरहेकाे छ । र, पक्राउ गरिएका नेता कार्यकर्ताहरुकाे अविलम्ब रिहाइकाे माग भइरहेकाे छ । 
 कोभिड महामारीको बीचमा जनतालाई लकडाउनभित्र बन्दी बनाएर ओली सरकारले देशको शिक्षा क्षेत्रमा गरेको विकृति र विसंगती मात्रै नभई नेपालको प्रमुख प्राकृतिक स्रोत रोडा, ढुङगा, गिठ्ठी, बालुवा भारतलाई विक्रि गर्न भनेर चुरे पाहाड दोहन गर्ने, दलालहरुसंँग मिलेर नेपालका मध्यपाहाडका डाँडाहरु भत्काएर त्यसबाट प्राप्त रोडा, ढुङगा, गिठ्ठी बेच्ने र त्यसबाट राजश्व सँकलन गर्ने र साम्राज्यवादी अमेरिकाको चाकडी र दलाली गर्न राष्ट्रघाती एमसीसी परियाेजनालाई बजेट मार्फत कार्यान्वयन गर्ने लगायतका ओली सरकारका जनघाती र राष्ट्रघाती नीति र निर्णयकाे विराेधमा युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।


                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    