कक्षा १० का विद्यार्थीको समग्र सिकाइको उपलब्धि बढेको छ । २०६७ सालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कक्षा १० का विद्यार्थीको शैक्षिक गुणस्तर ४१ प्रतिशत रहेकोमा अहिले बढेर ५१ प्रतिशत पुगेको केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले जानकारी दिए। ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९’ प्रतिवेदनमा समग्र सिकाइ बढेको देखिए पनि विज्ञान, गणित र अङ्ग्रेजीमा भने आधा विद्यार्थी कमजोर भएको पाइएको छ ।
परीक्षणको क्रममा गणित विषयमा १५ प्रतिशतले मात्र उत्कृष्ट क्षमता देखाएका छन् । जसमा २२ हजार ३ सय ६५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । त्यस्तैगरी विज्ञान विषय परीक्षणमा २० हजार ६ सय ३७ मा ७ प्रतिशत, नेपालीमा २२ हजार ३ सय ५३ जनामा १८ प्रतिशतले र अङ्ग्रेजीमा २२ हजार २ सय १७ जना मध्ये १८ प्रतिशतले मात्रै उत्कृष्ट क्षमता देखाएका थिए। त्यस्तैगरी औसत क्षमता देखाउनेहरु गणितमा ५० प्रतिशत, विज्ञानमा ३१ प्रतिशत, नेपालीमा ५४ प्रतिशत र अङ्ग्रेजीमा ३० प्रतिशत रहेका छन् ।
अपेक्षितभन्दा कम क्षमता देखाउनेहरु गणितमा ४६ प्रतिशत, विज्ञानमा ६३ प्रतिशत, नेपालीमा ५१ प्रतिशत र अङ्ग्रेजीमा ३७ प्रतिशत छन् । केन्द्रले प्रतिवेदनमा प्रदेशबीच सिकाइ उपलब्धिको तुलनात्मक तथ्य प्रस्तुत गरेको छ । प्रतिवेदनका अनुसार गणित, विज्ञान, नेपाली र अङ्ग्रेजीमा क्रमश ४५, ४३, ४२ र ६० स्केल स्कोरको अन्तर देखिएको छ । केन्द्रले एक हजार ८ सय विद्यालयमा नमुना परीक्षण गरेको थियो । समग्र सिकाइ उपलब्धि हासिल गरे पनि प्रतिवेदनको अनुसार प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुमा सिकाइ उपलब्धिमा कमजोर रहेको पाइएको छ । सापकोटाका अनुसार सही उमेरमा भर्ना भएका विद्यार्थीमा सिकाइ क्षमता धेरै भएको पाइएको छ ।