फाइल ।

बाजुरा सदरमुकाम मार्तडी सडक सञ्जालबाट विच्छेद हुँदा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ । थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी सबैभन्दा ठूलो समस्यामा छन् । असार पहिलो सातादेखि बाजुरा सडक अवरुद्ध भएको हो । साँफे–मार्तडी सडक खण्डअन्तर्गत बार्जागाडदेखि जडांगासम्मको करिब १७ किलोमिटर खण्ड क्षतविक्षत छ ।

दर्जनौं ठाउँमा पहिरो खसेका छन् भने ताप्रीसेराको पक्की पुल बगेको छ । बल्देदेखि द्वारी क्षेत्रको करिब दुई किलोमिटर सडकमा माथिबाट पहिरो र तलबाट बुढीगंगा नदीले कटान गरेपछि पैदल आवागमन जोखिमपूर्ण छ । बडिमालिका नगर प्रमुख पदमबहादुर बडुवालले भने, ‘सडकको त नामोनिसान नै छैन ।’ सदरमुकामदेखि जिल्लाको पूर्वोत्तर कोल्टी क्षेत्रसम्मको सडक सञ्जाल पनि पूर्ण रूपमा अवरुद्ध छ ।

यातायात चलेका बेला धनगढीदेखि कोल्टीसम्मको ढुवानी खर्च प्रतिकिलो ९ रुपैयाँ पर्ने गरेकामा हाल २५ रुपैयाँ तिर्नुपर्ने कोल्टीका स्थानीय व्यापारीहरूले बताएका छन् । व्यापारी हस्तबहादुर मल्लले भने, ‘कोल्टी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार छ । ढुवानीका साधन चल्दा मोटा चामल प्रतिकिलो ५२ रुपैयाँ थियो, अहिले ६२ रुपैयाँ पर्छ ।’अन्य अत्यावश्यक सामग्री नेपालगन्जबाट जहाजमा ढुवानी हुने गरे पनि भाडा अचाक्ली महँगो भएको मल्लले बताए ।

उनका अनुसार जहाजले प्रतिकिलो ५० देखि ९० रुपैयाँसम्म ढुवानी भाडा लिने गरेको छ । लामो समयदेखि सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको अभाव हुनुका साथै मूल्य वृद्धि भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । बुढीगंगा नदीको वारिपारि अम्कोट र पैमा क्षेत्रमा बर्सेनि पहिरो खस्दा नदी नै थुनिने अवस्थामा छ ।

प्रतिक्रिया दिनुस