महेन्द्रनगर । सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ । सोही अवसर पारेर प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षण गर्ने उद्देश्यका साथ कञ्चनपुर र कैलालीका विभिन्न ठाउँमा गिद्ध सचेतना सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरिदैंछ । उचित संरक्षण र बासस्थानको अभावमा गिद्ध लोप हुने अवस्थामा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा गिद्धको उपस्थिति राम्रो रहे पनि संरक्षणमा भने चुनौती थपिएको छ ।
गिद्धको गुँड मासिनेक्रम बढेकाले संरक्षणमा चुनौती थपिएको हो । प्रदेशको कैलाली, कञ्चनपुर र बैतडी जिल्लामा गिद्ध देखिने गरेकाले तीन जिल्लामा मात्रै गिद्धको गणना र अनुगमन गर्ने गरिएको छ । सो क्रममा कैलाली र बैतडीमा गुँड संरक्षणमा चुनौती रहेको पाइएको छ । कैलालीमा गिद्ध राम्रो सङ्ख्यामा देखिने गरे पनि गिद्धको गुँड भने घट्दो क्रममा रहेको गिद्ध संरक्षणमा क्रियाशिल हिरुलाल डङ्गौराले बताए ।
कैलालीको बेली, पटेला, अत्तरिया, खुटिया नदी लगायत चुरे क्षेत्रमा गिद्धको बसोबास रहेको छ । यस क्षेत्रमा रहेका राष्ट्रिय र सामुदायिक वनहरूमा गिद्धले गुँडसमेत लगाउने गरेको डगौराले बताए । यसैगरी, बैतडीमा आगलागीका कारण गुँड जलेर बच्चा मर्ने समस्या रहेको छ । भीरमा रहेका गिद्धको धेरैजसो गुँड आगलागी भएर जल्ने गरेको डङ्गौराले बताए ।
उनकाअनुसार गिद्धले बच्चा उडाउने बेलामै आगलागी समस्या हुने गरेको छ । ‘यो ठूलो चुनौती हो’, उनले भने । ‘गत वर्ष पनि १३ गुँडमध्ये नौ गुँड जलेर त्यसमा रहेका बच्चा मरे ।’ बैतडीको पाटन, खोड्पे र झालापानीमा गिद्धको बसोबास रहेको छ । त्यहाँ गिद्धले भीरमा गुँड लगाउने गरेका छन् । कञ्चनपुरमा भने गिद्धको उपस्थिति र अवस्था राम्रो रहेको छ । यहाँ गिद्ध बढ्दै गएको बताइएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडीको पर्सिया, वनसाह र कञ्ज क्षेत्रमा गिद्ध पाइन्छन् । यो प्रदेशमा डङ्गर, सानो खैरो, गोब्रे, खैरो, सुनगिद्ध, हिमाली र राजगिद्ध रहेका छन् ।