कैलाली । विश्वव्यापी रूपमा रातो सूचीमा रहेको पानी गौँथली चरा कैलालीमा साढे तीन हजारभन्दा बढी सङ्ख्यामा फेला परेका छन् ।
कैलारी गाउँपालिका–४ भितरियास्थित मोहना नदीको बगरमा सो चरा फेला परेका हुन ।

एकै ठाउँमा तीन हजार ५६४ पानी गौँथली अभिलेख गरिएको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिए । ‘एकै ठाउँमा धेरै सङ्ख्यामा पानी गौँथली भेटिएको यो नेपालमै पहिलो रेकर्ड हो’, उनले भने । नेपालमा पहिलो पटक काठमाण्डौं उपत्यकामा पानी गौँथली अभिलेख गरिएको थियो । १९ औँ शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाण्डौंमा पानी गौँथली अभिलेख गरेका हुन । सन १९९० अगाडि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यि चरा देखिएका थिए ।

त्यसपछि सन २०१२ मा चितवनमै तीन हजार ४६७ देखिएको चराको क्षेत्रमा काम गर्ने संस्था पक्षी संरक्षण सङ्घ (बीसीएन) को तथ्याङ्कमा उल्लेख छ । यसैगरी, सन २०१५ मा कोशी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा देखिएका थिए । त्यस्तै, चरा संरक्षणकर्मी राम शाहीले बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौँथली चरा अभिलेख गरेका थिए ।

संरक्षण क्षेत्रभन्दा बाहिर रहेको सोही नदीमा गतवर्ष पहिलो पटक १० हजार ५५३ को सङ्ख्यामा पानी गौँथली फेला परेका थियो । संरक्षित क्षेत्रमा पनि यति धेरै सङ्ख्यामा पानी गौँथली फेला परेको अभिलेख छैन । मोहना नदीमा देखिएको पानी गौँथली नेपालमा हालसम्म अभिलेख गरिएकोमध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको चराविद् डङ्गौराको दाबी छ । ‘यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौँथली भेटिएका थिएनन्’, उनले भने ।

सिमसार क्षेत्रमा बसोबास गर्न रुचाउने यो चरा प्रजाति बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली नदीमा पाइन्छन् । यसैगरी, नवलपुरको अरुण खोला, चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदी, कोशी नदी, दाङको राप्ती, कैलालीको मोहना नदीमा उल्लेख्य रूपमा पानी गौँथली पाइने गरेको जनाइएको छ ।

मोहना नदीमा गर्मी याममा बढी र जाडो याममा कम मात्रामा पानी गौँथली देखिने गरेको चराविज्ञ डङ्गौराको भनाइ छ । पानी गौँथली विश्वव्यापी रूपमा रातो सूचीमा रहेको चरा हुन । यो प्रजाति सङ्कटको नजिक रहेको बताइएको छ । नेपालसहित भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, कम्बोडिया, चीन, मलेसिया, म्यानमार, ओमान, पाकिस्तान, सिङ्गापुर, श्रीलङ्का, युनाइटेड अरब इमिरेट्स, भियतनाम लगायत २० देशमा यो चरा पाइन्छन् ।

तर, बसोबास स्थानको विनाश, नदी क्षेत्रबाट बालुवा र गिट्टी उठाउने कार्यले पानी गौथलीलाई चुनौती रहेको बताइएको छ । यस्तै, चोरी सिकार, ब्रिडिङका बेला मानवीय हस्तक्षेप लगायतका कारणले यो चरा प्रजाति लोप हुने खतराको नजिक पुगिरहेको छ । पानी गौँथली मुख्य गरी बालुवा तथा ढुङ्गे नदी र तालतलैयाहरुमा पाइन्छन् ।
कैलारीस्थित मोहना नदीमा देखिने पानी गौथलीको सिकार पनि बढी मात्रामा भइरहेको चराविद् डङ्गौराको भनाइ छ ।

प्रतिक्रिया दिनुस