कैलालीको चिसापानीमा नेपाली सेनाका मेजरले मदिरा सेवन गरी हो–हल्ला गरेको स्थानियले जनाएका छन् । आइतबार राति लम्किचुहा नगरपालिका३ गोरंगेस्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना शिक्षालयमा कार्यरत मेजर अशोकजंग सिंहले मदिरामा लट्ठ भई चिसापानीमा रहेको संगम होटेलमा हो हल्ला र गाली गलौच गरेपछि उत्पन्‍न भएको परिस्थितिले चिसापानी क्षेत्र तनावग्रस्त भएको हो ।

होटल संचालक हर्क रावलका छोरा महेश रावलले आइतबार राति पारिवारिक जमघट भैरहेको बेला मदिराले मातेका मेजर सिंह पछाडिको ढोकाबाट घरभित्र प्रवेश गरि गाली गलौच गर्नुका साथै हो हल्ला गरेको बताए । उनले त्यसो नगर्न आग्रह गर्दा मेजरले उल्टै हातपात र सुन्‍नै नसकिने गाली गलौच गरेको बताए । मेजर सिंहसंगै सादा पोशाकमा रहेका अन्य दुईजनाले डिउटीमा रहेका सेनाका जवानलाई निजी गाडीमा हतियारसहित लिएर आएपछि स्थिति निकै तनावपूर्ण भयो । होटल संचालक रावलले मेजरले हतियार लिइ ताक्न खोजेपछि त्यहाँ जम्मा भएको भिडले हतियार खोस्‍नुका साथै मेजरको गाडीमासमेत तोडफोड गरेको बताए । उनले हतियार नखोसेको भए स्थित जे पनि हुन सक्ने बताए ।

घटनापछि प्रहरीले मेजरमाथि कारवाहीको लागि नेपाली सेनालाई पत्राचार गरिएको जनाएको छ । तर, स्थानीयले भने मेजर शाहीको ज्यादतीको घटना मिलापत्रमै टुंग्याइएको बताएका छन्। सोमवार इलाका प्रहरी कार्यालय लम्कीमा मेजरले घटनाप्रति क्षमा मागेको बताइएको छ। तोडफोड भएको गाडी मेजर शाहीले आफैं बनाउने र ईलाका प्रहरी कार्यालय भवनमा भएको तोडफोडको जिम्मा स्थानीयले लिएर मर्मत गर्ने सहमति भएको बताइएको छ तर कसैमाथि मुद्दा नचलाइने भएको छ। हालसम्म कसैविरुद्ध उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुस