कैलालीको गौरीगंगा नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । गौरीगंगाले एन्फा कम्प्लेक्समा बुधबार टाइब्रेकरमा इलामको रोङ गाउँपालिकालाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । २६औं​ मिनेटमा कप्तान अनिता राईले गोल गर्दै रोङलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ६८औं मिनेटमा गौरीगंगाकी तुलसा बोहराले खेल बराबरीमा ल्याइन् । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

छनोटका सहभागी ३१ टोलीमध्ये १० टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोलीले राष्ट्रिय महिला लिगमा स्थान बनाउने छन् । छनोटको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख पाउनेछन् ।

प्रतिक्रिया दिनुस