कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित ओदालीमा निमार्णाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । गत महिना वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो ।

पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुंगाको बाँध लगाउने भनिए पनि स्थानीयले ढुंगा व्यवस्थापनमा विरोध गरेपछि आरसीसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको आयोजना कञ्चनपुरका सवइञ्जिनियर दुर्गादत्त अवस्थीले बताए ।

सवइञ्जिनियर अवस्थीले भन्नुभयो, ‘ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेका हौँ, अब परिवर्तन भएर आएपछि मात्रै पुल निर्माणको काम अघि बढ्नेछ ।’ निमार्णको जिम्मा पाएको कुमार सीएफइसी जेभीले भने बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा ढुंगा अभावका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको निर्माण कम्पनीका इञ्जिनियर किशोरराज पाण्डेयले बताए ।

निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुंगा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुंगा आवश्यक पर्छन् । आयोजनाकाअनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुंगा संकलन गर्ने भन्ने भएपनि स्थानीयका विरोधका बीच ढुंगा व्यवस्थापन गर्न नसकिएको हो । बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षति गरेको छ । २०७४ सालमा ३ अर्ब २७ करोड ठेक्का सम्झौता गरी निर्माण थालिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्ग बाढीले भत्काएको थियो ।

प्रतिक्रिया दिनुस