नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रबाट ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। चौध जना महाधिवेशन प्रतिनिधि छनोटका लागि ४५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा चार खुला, एक महिला गरी पाँच महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ नौ र महिलातर्फ पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ मा चार खुला र एकजना महिला गरी पाँचजना महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ १३ जना र महिलातर्फ ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा तीन खुला र एक महिला गरी चार जना महाधिवेशन प्रतिनिधिका लागि १० खुला र दुई जना महिला गरी १२ जनाको उम्मेदवारी परेको छ। दलिततर्फ महाधिवेशन प्रतिनिधिका लागि नरबहादुर विक र भारम सुनार सर्वसम्मत चयन भइसकेका छन्। उम्मेदवारी दर्ता गरेका उम्मेदवारले शनिबार दिउँसो १२ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय सीमा निर्धारण गरिएको छ। उम्मेदवारी फिर्ता लिने कार्यक्रमपछि निर्वाचन प्रकृया शुरु गरी प्रतिनिधि छनोट गरिने बताइएको छ।

प्रतिक्रिया दिनुस