कञ्चनपुर, कार्तिक ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले गत कार्तिक पहिलो साता महाकालीमा आएको वाढीले चारलेन पहुँचमार्ग सडक भत्किएको विषयमा छानबिन हुनुपर्ने माग अघि सारेका छन । राप्रपा कञ्चनपुरका नेताहरुले वालुवा राखेर बनाएको कमजोर खालको सडक भत्किएको प्रकरणमा सरकारले छानबिन गर्नुपर्ने माग अघि सारेका हुन ।
मंगलबार राप्रपाका नेताहरुले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सडक भत्किएको प्रकरणमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । राप्रपा कञ्चनपुरका निर्वतमान अध्यक्ष पूर्ण बहादुर चन्दले महाकाली नदीकै वालुवा हालेर बनाएको सडक भत्किएको बारे छानबिन गरेर दोषि पक्षमाथि कार्बाही गर्नुपर्ने बताए । ‘सडक भत्किएको बारे राप्रपाको गम्भिर ध्यानाकर्षण भएको छ, ‘उनले भने, ‘वालुवा राखेर सडक कहि बन्दैन, ‘के यस्तै मापदण्ड अनुरुप सडक बनाउनुपर्ने थियो ।’ राज्य संयन्त्रले सडक भत्किएको सडक बारे छानबिन गरेर दोषिमाथि कार्बाही गर्नुपर्छ ।’ राप्रपाका नेता तिर्थलाल चटौतले डिजायन नै गलत भएको बताए । ‘हामीले दुई बर्ष अघि पुल क्षेत्र जाँदा ठेकेदारसंग सडक र पुल बारे जिज्ञासा राखेका थियौँ, ‘उनले भने, ‘अहिले आएर हामीले भनेकै जस्तो भयो ।’ राप्रपा सुप प्रदेशका अध्यक्ष धर्मराज जोशीले पुलको डिजायन नै गलत भएको बताए । ‘यो पुलको डिजायन गलत छ, ‘उनले भने, ‘स्पान र लम्बाई बृद्धि गर्नुपर्छ, कम्तिमा १किलोमिटर पुल बनाउनुपर्छ ।’ पुलको लम्बाई बृद्धि नहुँदासम्म बर्षनी जनताले वाढीको समस्या खेप्नुपर्ने उनको भनाई छ । राप्रपा सुप प्रदेशको अध्यक्षमा चयन भएका जोशीले पार्टीलाई चुस्त दुरुस्त ढङगबाट अघि बढाउने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रका अभियन्ता मोहन बैद्य किरण नै वर्तमान व्यवस्था भन्दा राजतन्त्र नै ठिक भनिरहेको बताउँदै उनले संम्बैधानिक राजतन्त्र र अन्य धर्मलाई समान सहित हिन्दुधर्म पूर्नस्थापनाका लागि पाटीले एजेण्डा अघि सारेको बताए ।