कैलाली,९ मंसिर । कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो। उनलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको जिल्लाको लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो।

उनको मृत्यु भएपछि दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। आक्रोशित भिडले उक्त ठक्कर दिने ट्रकमा आगजनी समेत गरेका थिए। आन्दोलित स्थानीयले लम्की बजार पनि बन्द गराएका थिए। तर साँझ भने घटनास्थलमै रहेको मृतकको शव उठाउन दिइएको छ।

उनको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। शव उठाइएपछि ५ घण्टादेखि अवरुद्ध राजमार्ग पनि खुलेको ट्राफिक कार्यालयले बताएको छ।

प्रतिक्रिया दिनुस