बझाङ । बझाङमा नक्कली सर्टिफिकेट र नागरिकता बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । फरक–फरक नाम र जन्म मिति राखेर नक्कली नागरिकता र सर्टिफिकेट निकालेको पाइएपछि जयपृथ्वी नगरपालिका–१ का सतेशबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
एउटामा सतेशबहादुर सिंह र अर्कोमा प्रकाशबहादुर सिंह नाममा जन्म मिति फरक(फरक गरी नागरिकता र सर्टिफिकेट नक्कली बनाएको खुलेको छ । सिंहले २०७० साल चैत ११ गते बनाएको पहिलो नागरिकतामा सतेशबहादुर सिंह र जन्म मिति २०५३ साल भदौ ८ गते उल्लेख छ । उनले २०७८ साल कात्तिक ११ गते दोस्रो नागरिकता जन्म मिति २०५६ साल भदौ ८ गते र नाम प्रकाशबहादुर सिंह राखेर लिएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनी प्रहरी जवानका लागि दर्खास्त दिन २०७८ साल पुस १ गते कार्यालयमा आएका थिए। दर्खास्त दिन आएका उनको नागरिकता र सर्टिफिकेटमा नाम र जन्ममिति फरक परेपछि कीर्तेको आशंकामा अनुसन्धान गर्दा नागरिकता र सर्टिफिकेट नक्कली भेटिएको बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । अनुसन्धानका क्रममा विद्यालयमा बुझ्दा सर्टिफिकेट स्कुलले दिएको र नागरिकता २ वटा बनाएको खुलेको छ ।यसपछि सर्टिफिकेट दिने नारायण मावि पिमी कैलाशका प्रधानाध्यापक ऐनबहादुर सिंह र सर्टिफिकेट कीर्तेमा अनुसन्धानका लागि प्रतिभा डिजिटल फोटो स्टुडियोका सञ्चालक शिवराज शर्मालाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
नागरिकता २ बनाएको तथा कीर्तेमा जयपृथ्वी नगरपालिका–१ कैलाशका वडाध्यक्ष गगनबहादुर सिंह, वडासचिव करनबहादुर कामी, सहायक चौथो अजयबहादुर सिंहलाई नागरिकता बनाउन वडाबाट सिफारिस दिएकाले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अहिले सतेशविरुद्ध कीर्तेका दुई मुद्दा चलाइएको प्रहरीले जनाएको छ। सिंहले दोस्रो नागरिकता २०७८ सालमा बनाउँदा आफू प्रमुख जिल्ला अधिकारी रहेको र बाहिर भएकाले नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले हस्ताक्षर गरेको प्रजिअ मोहन अधिकारीले बताए।
उनले भने, ‘नागरिकता बनाउन आउँदा जन्म दर्ताबाहेक अरु ल्याएको थिएन। जन्म दर्तामा नाम र जन्ममितिको आधारमा हामीले नागरिकता दियौं। नागरिकता बनिसकेपछि कक्षा ८ को सर्टिफिकेट बनाएको रहेछ।’