डिल्लीराज पन्त 

महेन्द्रनगर, कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाज्यूको समन्वय र सहजीकरणमा, प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र सिंह महताज्यूको उपस्थितिमा जिल्लामा देखिएको रासायनिक मल अभाव तथा किसानलाई सहज रूपमा मल उपलब्ध गराउने विषयमा सर्वपक्षीय छलफल सम्पन्न भएको छ।

छलफलमा कञ्चनपुरका ९ वटै स्थानीय तहका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुखहरू तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

बैठकमा जिल्लामा हाल देखिएको मल आपूर्तिको अवस्था, वितरण प्रक्रियामा रहेका समस्या, किसानको बढ्दो माग, आपूर्तिमा देखिएको असन्तुलन तथा मल वितरणलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने उपायबारे विस्तृत छलफल भएको थियो।

माननीय ज्ञानेन्द्र सिंह महताज्यूले किसानलाई समयमा मल उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले वास्तविक किसानसम्म मल पुग्ने सुनिश्चितता गर्न स्थानीय तह, आपूर्ति निकाय र प्रशासनबीच सहकार्य अझ सुदृढ बनाउन आग्रह गर्नुभयो।

छलफलमा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा देखिएका मल अभावका समस्या तथा किसानले भोगिरहेका कठिनाइबारे जानकारी गराएका थिए। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रतिनिधिहरूले उपलब्ध मौज्दात, आगामी आपूर्ति योजना तथा वितरण व्यवस्थापनबारे जानकारी दिएका थिए।

बैठकले किसानलाई सहज, पारदर्शी र समयमै मल उपलब्ध गराउने, वितरण प्रक्रियामा हुने अनियमितता नियन्त्रण गर्ने तथा आवश्यक समन्वयात्मक संयन्त्रलाई सक्रिय बनाउने निष्कर्ष निकालेको जनाइएको छ।

जिल्लामा धान रोपाइँ तथा अन्य कृषि कार्यको महत्वपूर्ण समयमा मल अभाव देखिएकाले यस विषयमा सरोकारवाला निकायहरूबीच भएको छलफललाई किसान हितका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुस