भीमदत्त नगरपालिकाको नगरसभाले २५ विधेयक पारित गरेको छ। आइतबार नगर सदस्यबाट आएका सुझावलाई समेट्दै विधेयक पारित गरिएको हो। नगरपालिकाका प्रवक्ता हिमाल चन्दका अनुसार नगर सदस्यहरूलाई विधेयक अध्ययनका लागि एक साताको समय दिइएको थियो। ‘नगर सदस्यले विधेयक अध्ययन गरी नगरसभामा सुझाव पेश गर्नु भएको थियो,’ उनले भने, ‘सुझावलाई विधेयकमा समेट्दै सर्वसम्मत पारित भए।’

उनका अनुसार पारित विधेयकमा नगरपालिका कार्य सञ्चालन विधेयक, सार्वजनिक सुनवाईसम्बन्धी विधेयक, भीमदत्त प्रज्ञा प्रतिष्ठान विधेयक, वातावरण तथा प्राकृतिक श्रोत संरक्षणसम्बन्धी विधेयक, न्यायिक समितिसम्बन्धी कार्यविधि, नगर प्रहरी, नगर शिक्षा, बजार व्यवस्थापन, स्थानीय सेवा, सार्वजनिक निजी साझेदारी, एफएम रेडियो सञ्चालनसम्बन्धी विधेयक छन्। यसैगरी पारित भएका अन्य विधेयकमा कृषि, विपद् जोखिम न्यूनीकरण विधेयक, वन विधेयक, स्थानीय स्वास्थ्य विधेयक, भवन निर्माण मापदण्डलगायत छन्।
यसअघिका नगरसभाबाट २१ वटा ऐन, ९ वटा नियमावली र ६ वटा निर्देशिका पारित भएर लागू भैसकेका छन्। नगरसभा शनिबार राखिएकोमा आइतबार सम्पन्न भएको हो।

विधेयक पारितसँगै नगरसभाले विकास निर्माण, सामाजिक विकासतर्फका महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।

प्रतिक्रिया दिनुस