काठमाडौं । नेपाली कांग्रेसले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवार चयन गर्ने’दयगत आजबाट औपचारिक रूपमा छलफल सुरु गरेको छ । कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार चयन तथा निर्वाचनमा अन्य दलसँग हुने गठबन्धनलगायतका विषयमा छलफल गर्न सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा २ बजे बस्नेछ । यसअघि १० पुसमा बसेको पहिलो केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवालाई उम्मेदवार सिफारिस गर्दा हस्ताक्षर गर्ने अधिकार दिएको थियो । राष्ट्रिय सभातर्फ २० फागुनमा १९ सिट रिक्त हुँदै छ ।

थप तीन नेता केन्द्रीय सदस्य मनोनीत

सभापति शेरबहादुर देउवाले कांग्रेस विधानको सुविधा प्रयोग गर्दै थप तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले १४औं महाधिवेशनमा सभापतिमा पराजित कल्याण गुरुङ, महामन्त्रीमा पराजित प्रदीप पौडेल र सहमहामन्त्रीमा पराजित नेता जीवनबहादुर शाहीलाई आइतबार केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । यसअघि शनिबार देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

प्रतिक्रिया दिनुस