डोटीका २५ हजार स्कूले बालबालिकालाई विद्यालयमै कोरोना विरुद्धको खोप लगाउन शुरू गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्षमुनिका विद्यार्थीलाई खोप लगाउन शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा २५ हजार बालबालिकालाई खोप लगाउन शुरू गरिएको कार्यालयको भनाइ छ ।

जिल्लामा ३३ हजार विद्यार्थीको तथ्यांक प्राप्त भए पनि २५ हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहिलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र बाँकीलाई दोस्रो चरणमा लगाइने कार्यालयका स्रोत व्यक्ति डिल्लीरमण जोशीले जानकारी दिए ।

उनका अनुसार हालसम्म कम्तीमा पनि १० हजार जनालाई खोप लगाइएको छ । यो खोप फ्रिजबाट निकालेको १ महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको स्रोत व्यक्ति जोशीले बताए । डोटीका ९५ प्रतिशत खोप केन्द्र विद्यालयमै दिइने र केही खोप केन्द्र अस्पताल तथा स्वास्थ्य चौकीबाट उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया दिनुस