कैलाली । कैलालीमा मेयरको कार्यकक्ष घेराउ गर्दे स्थानियले छाडा चौपाया व्यवस्थापनको माग राखेका छन् । जिल्लाको गोदावरी नगरपालिकाका स्थानियले छाडाचौपाया व्यवस्थापन नगरिदा अन्नवाली सखाप हुन लागेको भन्दै बुधबार मेयर हरिसिह साउँदको कार्यकक्ष घेराउ गरेका हुन् ।
वडानम्बर ३ का स्थानियले छाडा गाईगोरुका कारण गहुँबाली सखाप हुन लागेको भन्दै व्यवस्थापन गर्न माग गरे । चौकिडाँडाँकी राधिका बिकले छाडा गाईगोरुका कारण रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको गुनासो गरिन् । ११ कट्टा जग्गामा गहुँ खेती गरेकी उनले सबै गहुँ गाईगोरुले खाएको बताईन् । स्थानिय रतना धामीले नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन गर्नुपर्ने त्यो नभए आफुहरुका खेतमा तार जाली लगाइदिनुपर्ने माग राखिन् ।
एकातिर वडा नम्बर ३ मा निर्माण गरिएको गौशाला लथालिङ्ग बनेको स्थानिय बताउछन् । स्थानियले राधाकृष्ण गौ सेवा संरक्षण समिति मार्फत गौशाला संचालन गरिएको भएपनि आर्थिक अभावमा गौशाला लथालिङ्ग बनेको हो । गाईगोरुलाई खुवाउने घाँस र राख्ने ठाउँको अभाव भएको भन्दै गौशाला भित्र भएकै गाईगोरु पनि बाहिर छोडिने गरेको स्थानियको आरोप छ । समितिका सचिव गणेश सार्कीले आफूहरुले छाडा गाईगोरुको व्यवस्थापन गरेको भएपनि चिसोका कारण छानो नहुँदा गाईगोरु राख्न समस्या भएको बताए । उनले गौशाला वरिपरी तारबार पनि नभएकाले भित्र राखिएका गाईगोरु पनि बाहिर जाने गरेको बताए ।
उनले ४ सय जति गाईगोरु गौशालामा राखिएको भएपनि छानो, तारबार र रेखदेख गर्ने कर्मचारीका लागि नगरपालिका संग सहयोग मागेको भएपनि बेवास्ता गरिएको बताए । बुधबार मेयरको कक्ष घेराउ गर्न आएका स्थानिय संगै आएका गौशालाका पदाधिकारी र कर्मचारीलाई नगरपालिकाले सहयोग गर्ने जनाएको थियो । गौशालालाई के कती सहयोग गर्ने भन्ने बारेमा भने टुङ्गो नलागेको मेयरको सचिवालयले जनाएको छ । २०७४ सालमा भएको स्थानिय चुनावमा छाडा गाईगोरु व्यवस्थापनको मुद्दालाई प्राथमिकतामा राखिएको भएपनि अहिले जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा पनि यो समस्या समाधान हुन सकेको छैन ।