नेकपा एमाले कञ्चनपुरमा नयां नेतृत्वको लागी दुई जनाबीच तिव्र प्रतिस्पर्धा सुरु भएको छ । एमालेले पुस २३ मा कंचनपुरको जिल्ला अधिवेशन आयोजना गर्दैछ ।जिल्ला अधिवेशनका लागी प्रतिनिधी छनौट जिल्लाभर लगभग सकिएको छ । प्रतिनिधी छनोट सकिएसंगै जिल्ला अध्यक्षसहित पदाधिकारी र सदस्यमा चुनावी सरगर्मी सुरु भएको हो । जिल्लाको अध्यक्षका लागी हालका अध्यक्ष वीरबहादुर थापा, सुरेन्द्र विष्ट र अशोक चन्द मैदानमा उत्रिएका छन् । यद्यपी सहमतिको लागी कोसिस भने जारी छ ।
अध्यक्षका दावेदार थापा पुर्णवास नगरपालिकाका बासिन्दा हुन भने उनि नेकपा हुंदा समेत कंचनपुरको जिल्ला अध्यक्ष थिए । विष्ट हाल जिल्ला सचिवका साथै भीमदत्त नगरपालिकाको मेयर छन् । अर्का प्रत्यासी चन्द बेदकोट नगरपालिकाको मेयर हुन । उनले यसअघि युवासंघको केन्द्रीय सचिवको जिम्मेवारी सम्हाल्नुका साथै जिल्लाको सचिवालयमा बसेर समेत लामो समय काम गरिसकेका छन् ।
त्यसैगरी उपाध्यक्षमा लक्ष्मी बुढा, चिनि गिरीलगायतको नाम चर्चामा छ । बुढालाई केही समयअघि मात्र एमालेको जिल्ला उपाध्यक्षमा मनोनित गरिएको थियो । गिरी भने दोधाराचाँदनी नगरपालिकाकी उपमेयर हुन । सचिवमा रणबहादुर महरा र राधाकृष्ण जोशीले उठ्ने तयारी गरेका छन् । त्यसैगरी दुई उपसचिवमा फैरु तामाङ, पल्लवराज भट्ट र मोहन रावल,शेरबहादुर चन्द,राजिव खड्का,अक्कल विष्ट र रमेश भट्टले दावी गरिरहेको बताइन्छ ।
एमाले प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा र प्रदेश अध्यक्ष दामोदर भण्डारी सहमतिमा नेतृत्व टुंगो लगाउने पक्षमा छन् । उनिहरु तिनै जनाले अन्तिम समयसम्म सहमति नभए मात्र निर्वाचनमा जान जिल्ला नेतृत्वलाई निर्देशन दिएको बताइएको छ । सहमतिमा नेतृत्व टुंग्याउने अवस्थामा भने जिल्लाको नेतृत्वमा हेरफेर हुने सम्भावना छ । सहमतिमा समेत अध्यक्षमा थापाकै बढी सम्भावना छ । त्यसैगरी उपाध्यक्षमा बुढा,सचिवमा चन्द, उपसचिवमा जोशी र खड्काको सम्भावना बढी छ ।
हाल सचिव रहेका विष्टलाई प्रदेशतिर लगेर महरा सचिव वा उपसचिव बन्ने सम्भावना समेत रहेको बताइन्छ । त्यसो नभएको खण्डमा उनलाई सचिव बनाएर चन्द उपसचिव बन्ने सम्भावना समेत रहेको एमाले वृतमा चर्चा छ । थापालाई केन्द्रीय सदस्य बनाउन यसअघि कोशिस भएपनि अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई एक कार्यकाल जिल्लाकै नेतृत्व गर्न निर्देशन दिएको एमालेभित्र चर्चा छ ।
तर, उनलाई प्रदेशको पदाधिकारी बनाउन विष्ट निकट नेताहरुको दौडधूप भने जारी नै छ । थापाले भने एक कार्यकाल जिल्ला अध्यक्ष नै बस्ने इच्छा गरेका छन् । उनलाई एमाले केन्द्रीय सदस्य कमल बोहरा, युवा संघका पुर्व केन्द्रीय अध्यक्ष वचन बहादुर सिंह, प्रभावशाली नेताहरु जयराज पाण्डे,शेरबहादुर चन्द, मोहन रावल, महेश पन्त,राजीव खड्का,खेम सुवेदी,रामचन्द्र नेपाल,टेकबहादुर हमाललगायतको साथ छ । विष्टको पक्षमा जिल्ला इन्चार्ज निरु पाल,केन्द्रीय सदस्यहरु नरबहादुर धामी,कृपा रानालगायतको सहयोग छ ।