२२ पुस, काठमाडौं । चोरीको आरोप लागेपछि ‘हे दैव’बोलको गीत युट्युबबाट हटाइएको छ । मेलिना राई र किरण गजमेरको स्वर रहेको यो गीत गत सोमबार युट्युबमा सार्वजनिक गरिएको थियो ।

रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको गीत सार्वजनिक भएसँगै चोरीको आरोप लागेको हो । चोरीको आरोपसँगै यो गीत बुधबार युट्युबबाट हटाइएको हो । गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले गीतको शुरुको हरफ नै आफ्नो रचना रहेको गीत ‘भेटिएर छुट्नुभन्दा’बाट हुबहु चोरिएको बताएका छन् ।

यो गीत २०६१ सालमा रेकर्ड भएर २०६२ सालमा सार्वजनिक भएको गायक एवं संगीतकार कर्णदासको एल्बम ‘आधा सपना’मा समावेश गीत हो । गीतमा कर्णदासको संगीत तथा स्वर रहेको छ । गीतकार खड्काले सो गीतले आफूलाई नेपाली गीति लेखनमा पहिचान, सम्मान र स्थापित हुन मद्दत गरेको बताएका छन् । उनले गीतकार सम्पर्कमा नआएपछि मध्यस्थकर्तासँगको कुराकानीपछि युट्युबबाट गीत हटाइएको जानकारी दिएका छन् ।

खड्काले आउँदा दिनमा फेरि यस्तै स्वरूपमा आफ्ना अडियो, भिडियो वा अन्य कुनै फर्म्याटमा कतै सार्वजनिक भएमा आफू कानूनी उपचारमा जाने समेत चेतावनी दिएका छन् । गीतकार खड्का प्रतिलिपि अधिकारका क्षेत्रमा स्रस्टाको बौद्धिक अधिकारको संरक्षणमा काम गर्ने संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’मा चार वर्ष महासचिव भएर काम गरेका थिए । आफूले यूरोपका ११ मुलुक र अफ्रिकाका विभिन्न देशमा भ्रमण गर्ने र बौद्धिक अधिकारको अभ्यासका बारेमा जानकारी लिने सौभाग्य प्राप्त गरेको बताउँदै उनले भनेका छन्, ‘त्यसैले म भन्छु, कसैले पनि कसैका गीत जानीजानी नचोरौं, अन्जानमा कतै मिल्न गए गल्ती सुधारौं । मेरो गीत कसैले चोर्नु भनेको मेरो नामको घर–जग्गा मलाई थाहै नदिई कसैले आफ्नो नाममा पास गर्नु जस्तै हो ।’

प्रतिक्रिया दिनुस