तस्विर : सुजित सिनाल
धनन्जय अवस्थी, महेन्द्रनगर । मजगाउ विमानस्थल पुनः निर्माण प्रक्रिया अगाडी बढाइएसँगै छाडा चौपायाले अन्नबालीमा क्षति पुर्याउने भन्दै किसानहरूले दुःखे सो पोखेका छन् ।  भीमदत्तनगरपालिका वडा नम्बर १६ स्थित घेर बार मजगाउ विमानस्थलमा छाडा चौपायाले आश्रय लिँदै आएका छन् ।
बुधवार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलको शिलान्यास गरेसँगै पुनः निर्माण प्रक्रिया अगाडी बढाइएको हो । तर मजगाउका स्थानीय हरिस विष्टले चौपाया व्यवस्थापन नगरिए आफूहरूका खेतबारी सखाप हुने गुनासो गरे । आसपासमा आएका चौपायालाई घेर बार गरिएको विमानस्थलमा लग्ने गरेका उनले बताए  ।
अब विमानस्थल निर्माण प्रक्रिया अगाडी बढेसँगै चौपाया खेतमा हुलिने भन्दै उनले गुनासो गरे ।
विमानस्थलको चौरमा दैनिक २ सय बढी चौपाया छोडिएका स्थानीय बताउँछन् । तर तिनको उचित व्यवस्थापन नगरिए अन्नबाली सखाप हुने भन्दै किसानहरूले दुखेसो पोखेका हुन् । नगरपालिकाले चौपायाको उचित व्यवस्थापन गर्नुपर्ने स्थानीय रमेश विकले बताए । बजारमा छोडिएका चौपाया समेत मजगाउ पुगाइने गरेका भन्दै उनले आपत्ति जनाए ।
वडा अध्यक्ष सुरेन्द्र विष्टले भने मजगाउ विमानस्थल सञ्चालनमा आएपछि वडा नम्बर १९ र ९ को गौशालामा छाडा चौपाया पुगाइने जानकारी दिए ।  उनले चौपाया नछोड्न सबैमा आग्रह समेत गरे ।
तर वडा नम्बर १९ र ९ मा निर्माण गरिएको गौशालाको उचित रेखदेख गर्न नसकिँदा चौपाया व्यवस्थापन गर्न सकिएको छैन । भीमदत्तनगरपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले वडा नम्बर ९ मा निर्माण गरिएको गौशालामा पर्याप्त स्थान नभएको र १९ नम्बरमा रहेको गौशालाको मर्मत गरी चौपाया व्यवस्थापन गरिने जनाए ।
उनले भने,–‘ छाडा छोड्ने प्रवृत्तिमा पनि कमी आउन जरुरी छ, छोडिएका चौपायाको उचित व्यवस्थापन गरी अब छोड्नले कारबाहीको दायरामा ल्याइने छ।’
उनले मजगाउ विमानस्थलको चौरमा देखिने जम्मै छाडा नभएका जनाए । विमानस्थल निर्माण सम्पन्न भएपछि बाँकी चौपायालाई बाँगफाँटामा व्यवस्थापन गरिने उनले बताए ।
प्रतिक्रिया दिनुस