महेन्द्रनगर । बैतडीका डम्बर अवस्थीको हत्यामा संलग्नलाई कार्वाही नगरुन्जेल सम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन् । जिल्लाको सूर्नया गाउँपालिका–६ का ३० वर्षीय अवस्थीको गत बुधवार धुरा जङ्गलमा करिब १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले अवस्थीको हत्या कबुल गरेका हरिस अवस्थीलाई नियन्त्रणमा लिइएको जनाएको छ । हरिस मृतकका भतिजा नाता पर्ने समेत प्रहरीको ठम्याइ छ । हरिसले घरायसी रिषीभी साध्न डम्बरको हत्या गरेको खुल्नमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जनाए ।
मङ्सिर १४ गते घरबाट गायब भएका डम्बर गत बुधवार मात्रै जङ्गलमा गाडिएको अवस्थामा मृत फेला परेका थिए । मङ्सिर १४ गते राति नै ढुङ्गा प्रहारबाट डम्मरको हत्या गरी हरिसले शव गाडेको ठाउँ खुलाएपछि उत्खनन गरेको प्रहरीले जनाएको छ । तर उनको हत्यामा अन्यको पनि संलग्नता रहेको हुन सक्ने भन्दै मृतकका आफन्तले गहन अनुसन्धान गरिनुपर्ने माग राखेका छन् । डम्बरको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याइ कडा कार्वाही नगरुन्जेल शव नबुझ्ने उनीहरूको अडान छ । आफन्तले हत्यामा संलग्न अन्यको पनि खोजी गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । डम्मरको शव पोस्टमार्टमपछि जिल्ला अस्पतालमै राखिएको छ ।
डम्बर नेत्रविक्रम चन्द समूहका सदस्यसमेत थिए । हत्या आरोपित हरिस सिद्ध नाथ आधारभूत विद्यालयका शिक्षकसमेत रहेको प्रहरीले जनाएको छ । यस अघि हरिसले पुस २२ गते आफूलाई विप्लव समूहका कार्यकर्ताले अपहरण गरेर बाँके जिल्लाको एक गाउँमा पुर्‍याएको भन्दै फेसबुकमा स्ट्याटस राखेका थिए । उनले फेसबुकमा मृतक डम्मरका दाजु तीर्थराज र अर्का एक स्थानीय कार्यकर्ताले आफूलाई अपहरण गर्न लगाएको आरोप लगाएका थिए ।
प्रहरीमा सोधपुछका क्रममा ‘अपहरण’ नाटक भएको र आफूले डम्बरको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ओझाले बताए । मङ्सिर १४ गते राति नै डम्मरको हत्या गरी शव गाडेको ठाउँ खुलाएपछि प्रहरी गएर उत्खनन गरेको हो । मृतकका आफन्तले पुस १ गते डम्मरको हुलियासहित खोजीका लागि निवेदन दिएका थिए ।

 

प्रतिक्रिया दिनुस