सुदूरपश्चिम प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ लाई सात विकेटले पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य सुदूरपश्चिमले पाँच बल बाँकी हुँदा तीन विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमको यो दोस्रो जित हो । दोस्रो जितसँगै सुदूरपश्चिमले चार खेलबाट चार अंक जोेडेको छ । यससँगै सुदूरपश्चिमले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । प्रदेश–१ भने जितबिहीन छ । प्रदेश–१ले अन्तिम खेल नेपाल पुलिसविरुद्ध सोमबार खेल्नेछ । खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि शनिबार हुने भनिएको प्रदेश–१ र नेपाल पुलिसबीचको खेल स्थगित भएको थियो । समूह ‘ए’बाट नेपाल पुलिस र त्रिभुवन आर्मीले क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

आइतबार प्रदेश–१ विरुद्ध १५९ रनको लक्ष्य पूरा गर्नेक्रममा सुदूरपश्चिमका ओपनर राजुले ५२ बलमा ९ चौका र दुई छक्कासहित ६८ रन बनाए । उनले पहिलो विकेटका लागि अर्का ओपनर सन्तोषसँग ९८ रनको साझेदारी गरेका थिए । सन्तोषले ४८ रन बनाए । त्यसपछि खडक बोहरा ८ रन बनाएर पवेलयिन फर्किए । अर्जुन साउद २६ र नारायन जोशी ८ रनमा अविजित रहे ।

प्रदेश–१ का फिरदोश अन्सरी, मुकुन्द यादव र कमल खत्रीले एकएक विकेट लिए । त्यसअघि प्रदेश–१ का लागि मुकुन्दले ३४ र सोनु अन्सरीले ३१ रन बनाए । मनिष थापा र अंकित सुवेदीले समान २३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनु सकेनन् । हेमन्त धामी र नारायण जोशीले समान दुई विकेट लिए । कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुस