नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापीकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताएका हुन् ।
अन्तर्राष्ट्रिय रूपमा हाबी भइरहेका संस्कार, संस्कृति र चिन्तनले नेपाली संस्कार र संस्कृतिलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उनले बताए । नेता गुरुङले सांस्कृतिक अतिक्रमणका विरुद्धमा सजग रहनुपर्नेमा जोड दिए । उनले देश भित्रका पनि एउटा समुदायले अर्को समुदायको संस्कार र संस्कृतिको अतिक्रमण गरिरहेको उल्लेख गर्दै त्यसबाट पनि सजग रहनुपर्ने बताए ।
ुबाह्य रुपमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमणको विरुद्धमा पनि हामी उत्तिकै सजग रहनुपर्दछ । आन्तरिक रुपमा विगतको सामन्तवादी संस्कार र संस्कृतिले जुन प्रकारको अरु समुदायहरुका संस्कार र संस्कृतिलाई जो अतिक्रमण गरिराखेका छन् । त्यसबाट पनि हामी सजग रहनुपर्दछ’ उनले भने । उनले नेपाली जनताले अंगिकार गरेको सबै भाषा, संस्कृतिलाई समान रुपमा मान्यता स्थापित गर्दै संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।